१५ बैशाख २०८१, शनिबार
रामनगर गोलीकाण्ड: गाउँबाट नेकपाका युवाको भागाभाग, घरघरमा प्रहरीको पहरा
  • काँचुली खबर

मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विवाद बढेर गोलीकाण्ड भएपछि गाउँबाट नेकपाका युवाको भागाभाग भएको छ ।  नेकपाका कार्यकर्ताको गोली प्रहारबाट मंगलवार कांग्रेसका रामविलाश महतोको मृत्यु भएपछि गाउँ अशान्त बनेको छ । सोमवार वडाध्यक्ष रामनरेश महतोमाथि नेकपा कार्यकर्ताले कुटपिट गरेपछि विवाद बढेर गोलीकाण्ड भएको थियो ।

गोली प्रहारबाट कांग्रेस कार्यकर्ताको मृत्यु भएपछि गाउँमा प्रहरी परिचालन भएको छ । नेकपा र कांग्रेसबीच गाउँमा फेरि विवाद र कुटाकुट हुन सक्ने खतरा रहेकाले प्रहरी परिचालन भएर स्थिति नियन्त्रणमा लिएको छ । गाउँका अधिकांश घरमा प्रहरीले पहरा दिइरहेको छ ।

नेकपा समर्थक युवा गाउँ छाडेर गएपछि घरमा महिला र बृद्धा मात्रै बसेका छन् । गोली प्रहारका घटनामा फसाउन सक्ने भएकाले सबै युवाहरू गाउँ छाडेर भागेका स्थानीय महिला कान्तिदेवीले बताइन् । उनका पति जगत राय पनि गाउँमा छैनन् ।

गोलीकाण्ड भएपछि आक्रोशित भीडले नेकपा समर्थक रायको घरमा लुटपाट गरेको कान्तिदेवीले बताइन् । ‘मेरो घरबाट ५ पेटी लुगाकपडा, १ तोला सुन, २५ तोला चाँदी, सिलाइका मेसिन, सोलार लुटेर लगिएको छ,’ उनले भनिन् ।

स्थानीय रामकलीदेवीले आफ्नो घरबाट सोलार ब्याट्री, कल, लुगाकपडा लगायत सामग्री लुटिएको बताइन् । गोलीकाण्ड भएपछि उनका पति रक्टु राय पनि गाउँ छाडेर भागेका छन् ।  मंगलवार बिहान गोलीकाण्ड भएपनि प्रहरी दस्ता साँझ मात्रै गाउँमा पुगेको थियो । गाउँमा प्रहरी परिचालन भएपछि अहिले लुटपाट रोकिएको छ । नेकपा समर्थक महिलाहरू स्थानीय नेता तपसी रायको घरमा एकत्रित भएर बसेका छन् ।

स्थानीय कांग्रेसका कार्यकर्ता राकेशप्रसाद कुशवाहका अनुसार गोलीकाण्डबाट बच्न नेकपा समर्थक महिलाले झूटा आरोप लगाइरहेको बताए । ‘घरका सामान उनीहरूका आफन्तले लगेका हुन्, अरुलाई फसाउन भनिरहेका छन् । गोलीकाण्डबाट बच्नका लागि झूटा प्रचार गरिरहेका छन्,’ उनले भने ।  गोलीकाण्डपछि कार्यकर्ताको मृत्यु भएपछि कांग्रेस समर्थकहरू आन्दोलित भएका छन् । कांग्रेस नेता कार्यकर्ताले बुधवार सदरमुकाम मलंगवामा प्रदर्शन गरिरहेका छन् । मृतक महतोलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले बुधवार सदरमुकाममा प्रदर्शन गरिरहेको छ ।

  • १४ कार्तिक २०७५, बुधबार १५:२१ प्रकाशित
  • Nabintech