काठमाडौं— स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । रुघाखोकी र छातीमा संक्रमणका कारण नेकपा अध्यक्ष समेत रहेका ओली शनिवार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेका थिएनन् ।
प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रवारका लागि तय भएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । शुक्रवार स्थगित भएको मन्त्रिपरिषद्को बैठक आइतवार बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री आजदेखि नियमित काममा फर्किल लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ, दिउँसो तीन बजेका लागि मन्त्रिपरिषद् बैठकको तयारी छ’ अधिकारीले लोकान्तरसँग भने । अधिकारीका अनुसार चिकित्सकको टोलीले बालुबाटार पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरेको थियो । संक्रमण बढ्न सक्ने भन्दै डाक्टरले सल्लाह दिएपछि ओली शनिवारको चियापान कार्यक्रममा सहभागि भएका थिएनन् । प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले बाहिर प्रचार गरिएजस्तो ओलीको स्वास्थ्य खराव नरहेको बताए । ‘आइसीयुमा भर्ना गर्ने तयारी भन्ने अफवाह हो’ उनले भने ।
११ कार्तिक २०७५, आईतवार ११:१२ प्रकाशित