कोहलपुर-नेपालगन्ज सडक खण्डमा विद्युतिय बस संचालनको तयारी तिब्र
  • काँचुली खबर

कोहलपुर-नेपालगन्ज सडक खण्डमा विद्युतीय बस सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । प्रदेश सरकारले यहि आर्थिक वर्षमा विद्युतिय बस सञ्चालन गर्ने अवधारणा ल्याएको हो ।
प्रदूषण कम गर्न छोटो दूरीका लागि परियोजना ल्याइएको हो । त्यसका लागि कार्यविधि तयार हुँदैछ । साथै, साझा यातायातसँग सहकार्यकालागि छलफल पनि भइरहेको छ ।
नेपालगन्ज-कोहलपुरको दूरी १६ किलोमिटर छ । हालसम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन मात्र सञ्चालनमा छन । उक्त परियोजना कार्यान्वयनमा आए प्रदूषणमा कमी आउने विश्वास गरिएको छ ।
‘विद्युतीय बस सञ्चालनका लागि विभिन्न पक्षसँग छलफल भइरहेको छ । त्यस्तै कार्ययोजना तयार हुँदैछ,’ प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका उपसचिव शरदबाबु पंगेनीले भने, ‘उक्त परियोजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।’
विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त परियोजनाअन्तर्गत नेपालगन्ज-कोहलपुर, तुल्सीपुर-घोराही र बुटवल-भैरहवासम्मकालागि विद्युतीय बस संचालन गरिनेछ ।
कार्ययोजना तयारीसँगै विशेषज्ञसँग परामर्श सुरु गरिएको छ । छोटो दूरीमा परियोजना सफल भए थप स्थानमा पनि विद्युतीय बस सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
‘वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने महत्वाकांक्षी योजना हो । यसको सफल कार्यान्वयनका लागि प्रदेश सरकार लागेको छ,’ उपसचिव पंगेनीले भने, ‘कार्ययोजना लगायतका प्रारम्भिक काम सकिएपछि बस सञ्चालनका लागि थप काम अगाडि बढाइनेछ ।’ उनका अनुसार चालु आर्थिक वर्ष भित्रै उक्त परियोजना कार्यान्वयन हुनेछ ।

  • २८ भाद्र २०७५, बिहीबार १९:४१ प्रकाशित
  • Nabintech