आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा संचालन गरिने भएका छन । त्यसकालागि आवश्यक भौतिक संरचना तथा निर्माणाधिन पूर्वाधारहरुको अवस्थाका बारेमा जानकारी दिने उद्धेश्यले बिहिबार कोहलपुरका सम्बद्ध ब्यक्तिहरुसँग छलफल गरिएको छ । छलफलका क्रममा क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले निर्माणाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदानको गुणस्तर सुधारकालागि आवश्यक पहल सुरु गरिएको जानकारी दिए ।
केन्द्रिय बजेट अनुसार मैदानमा पिच निर्माणकालागि १० लाख रकम निकासा भएको बताउदै वलीले अन्य संरचना निर्माणकालागि स्थानिय सरकारले समेत सहयोग गर्नुपर्ने बताए । मैदान निर्माणलागि केन्द्रसँग थप बजेट माग गरिएको वलीले जानकारी दिए । क्रिकेट खेल कोहलपुर मैदानमै हुनेमा ढुक्क हुन आग्रह गर्दै वलीले भने ‘त्यसकालागि हामीले स्थानिय स्तरबाट समेत आप्mनो क्षमता देखाउने समय आएको छ ।’ छलफलमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर क्रिकेट मैदान निर्माणलागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले तत्काल मैदान निर्माणलागि प्रक्रिया अगाडी बढाउन क्षेत्रिय खेलकुद विकास समितिलाई आग्रह समेत गरेका छन । कोहलपुर नगरपालिकाले मैदान क्षेत्रभित्र ड्रेसीङ रुम निर्माण गर्ने योजना बनाएको बताउँदै प्रमुख रावतले प्रतियोगिता संचालनकालागि आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।
मैदान प्रवेशकालागि आवश्यक ३ वटा ट्रयाक खोल्ने निर्णय गरिसकेको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिए । नगर विकासले ३ वटा ट्रयाक निर्माणलागि ३ करोड बजेट निकासा गरिसकेको र मैदानको पूर्व तर्फको खोलामा तटबन्धनकालागि समेत बजेट तर्जुमा गरिएको खड्काले जानकारी दिए ।
केही समय पहिले युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले कोहलपुर क्रिकेट मैदानमा निर्माण गरिने पिचको सिलान्यास गरेका थिए । त्यसयता मैदान निर्माणकालागि कुनै काम नभएपनि मैदान क्षेत्रको चारैतर्फ पर्खाल लगाउने कामले भने पूर्णता पाएको छ । कोहलपुर नगरपालिका कार्यालयमा भएको छलफलले बिभिन्न निर्णयहरु समेत पारित गरेको छ । छलफलबाट कोहलपुर क्रिकेट मैदान जाने बाटो मर्मत सम्भार गर्ने, राष्ट्रिय प्रतियोगितालाई लक्षित गरि नगर विकास समितिको मास्टर प्लान अनुसार बाटो निर्माण गर्ने, मैदानमा गेट निर्माण गर्ने र प्रतियोगिताको तयारी तिब्र पार्ने निर्णय गरिएको नेपाली क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी दिए ।