धरहरा पुनर्निर्माण ठेक्का जीआईईटीसी-रमन कम्पनीलाई
  • काँचुली खबर

भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ ।

आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जीआईईटीसी-रमन रहेको छ । यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।

धरहरा पुनर्निर्माणका लागि सीआईसीओ-कालिका-रसुवा जेभी, जीआईईटीसी-रमन जेभी, जेडआईईसी-लामा जेभी, सीआर फाइभ सीईसी-स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सीएफईसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । यीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो ।

धरहरा पुनर्निर्माणका लागि सीआईसीओ-कालिका-रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआईईसी-लामा जेभीले ४ अर्ब ५० करोड, सीआर फाइभ सीईसी-स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सीएफईसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका छन् ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी-रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भैरहेको छ । मानन्धरले आशयपत्रका लािग सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी दिए । प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।

  • १७ भाद्र २०७५, आईतवार १८:०१ प्रकाशित
  • Nabintech