कोहलपुरमा बधशाला निर्माणकालागि अन्तरक्रिया
  • काँचुली खबर

कोहलपुरमा आधुनिक बधशाला निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको छ । आधुनिक र व्यवस्थित बधशाला निर्माण तथा सञ्चालन सम्बन्धी बुधबार जिल्लाका सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा तथा हेफर ईन्टरनेशनलको सहयोगमा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले जिल्लावासीलाई स्वच्छ मासु उपलब्ध गराउनकालागि ब्यवस्थित तथा आधुनिक बधशालाको आवश्यकता अपरिहार्य रहेको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी ५ नं. प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बधशाला निर्माणकालागि कोहलपुर उपयुक्र्त भएको बताएकी छन । विगतमा समेत कोहलपुरमा बधशाला निर्माणको प्रयास भएकाले त्यसैलाई निरन्तरता दिन सकिने भन्दै मन्त्री पौडेलले आधुनिक बधशाला निर्माणकालागि प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेको जानकारी दिईन ।


कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाले बधशाला निर्माणकालागि कोहलपुर नगरपालिकालाई अग्रसर हुन आग्रह गरे । उनले जिल्लाभित्र निर्माण गरिने बधशालाकालागि नेपालगन्ज उपमहानगरपालिकाले समेत बजेट विनियोजन गर्नेमा ढुक्क हुन आग्रह गर्दै तत्काल प्रक्रिया अगाडी बढाउन अनुरोध गरे ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले स्वच्छ मासु उपभोग गर्न पाउने जिल्लावासीहरुको अधिकार भएकले त्यसको प्रत्याभुतिकालागि पनि बधशाला निर्माण अपरिहार्य रहेको बताए । केही वर्षपहिले कोहलपुरमा बधशाला निर्माण गरिएको भएपनि विभिद कारणवश संचालनमा आउन नसकेको जानकारी दिदै प्रमुख रावतले त्यसलाई थप ब्यवस्थित गरि संचालन गर्नसकिने बताए ।


कार्यक्रममा सहभागी खजुरा गाँउपालिकाका प्रमुख किश्मतकुमार कक्षपतीले विकासका दृष्टिकोणले पछाडी परेको खजुरालाई नेपालगन्ज र कोहलपुर नगरपालिकासँग जोड्ने माध्यमको रुपमा बधशालालाई विकास गरीनुपर्ने बताए । उनले जिल्लाभित्र जहाँ निर्माण गरिएपनि त्यसले सिङ्गो जिल्लावासीलाई फाईदा पुग्ने भएकाले बधशाला निर्माणमा ढिलाई गर्न नहुने बताए ।
५ नं. प्रदेशका पशु विभाग महाशाखाका प्रमुख डा. शुन्दर वस्यालले स्वच्छ तथा हाईजेनिक मासुजन्य पदार्थको विक्रिवितरणकालागी व्यवस्थित बधशाला बाहेक अन्य विकल्प नरहेको जिकिर जिल्लाभित्र निश्चितस्थान छनौट गरि आधुनिक बधशाला निर्माण गर्नुपर्नेमा जोड दिए ।
बाँकेमा रहेका करिब २ हजार होटलहरुमा प्रतिदिन १७ क्युन्टल मासुजन्य पदार्थ खपत हुने बताउँदै होटल ब्यवसायी संघ कोहलपुरका अध्यक्ष बलराम भट्टराईले त्यसको उचित व्यवस्थापनकालागि आधुनिक बधशाला उपर्युक्त माध्यम हुने बताए ।


नेपालगन्ज मासु ब्यवसायी संघका अध्यक्ष भरत महतोले मासुकालागि स्थानिय स्तरमै उन्नत जातका पशुहरु उत्पादनमा समेत ध्यान दिनुपर्ने बताए । उनले जिल्लामा सहज रुपमा खसी तथा राँगा उपलब्ध नहुँदा चर्को मुल्यमा भारतीय बजारबाट ल्याउनुपर्ने बाध्यता रहँदै आएको बताए ।
कोहलपुरका मासु व्यवसायी कृष्ण रानाले आधुनिक बधशाला निर्माण भएपछि मासुजन्य पदार्थका कारण हुँदै नगरमा हुँदै आएको फोहोर व्यवस्थापनमा सहजता आउने दाबी गरे । उनले बधशालाको अभावमा आफुहरुले अब्यवस्थित रुपमै पशु बध गर्न बाध्य हुनुपरेको भन्दै तत्काल बधशाला निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

  • ७ भाद्र २०७५, बिहीबार २२:०४ प्रकाशित
  • Nabintech