आफ्नै पौरखमा रमाएका महिलाहरु !
  • काँचुली खबर

नेपालगन्ज उपमहानगरपालीका मनीकापुर २० मा बुद्ध चाउमिन उद्योग छ । जुन उद्योगलाई चलाइरहेकी बिन्दु चर्तीमगर भातीय सेना परिवारमा बुहारी भएर भित्रिन् ।

परिवारमा सबै जागीरे । तर, बिन्दुका श्रीमान भने बेरोजगार । बेरोजगार पति, घरको खर्च । उनलाई त्यही अभाव अनि दुःखले केही गर्ने साहस पलायो । उनी भन्छिन्, ‘थोरै अभाव अनि धेरै साहसले श्रीमानसँग मिलेर चाउमिन बनाउन सुरु गरे ।’

सेनाको परिवारमा अनुशासन र धैर्यता निकै चाहिने । तरपनि परिवारको सहयोग उनले पाइन् । बिहे गरेपछि उनलाइ आफै केही गरु भन्ने सोंच पलायो । बिहे नगर्दै ब्यापारलाई बुझिसकेकी बिन्दुले बिहे गरेर श्रीमानको घर आएपछि फेरी ब्यबसायलाई सुरु गर्ने योजना बुनिन् ।

बुवाको सपना अनि आफ्नालागि अवसरको मार्ग तयार गर्न उनले चाउमिन उद्योग संचालन गर्न सुरु गरिन् । १५ लाखको ऋणबाट ब्यबसाय सुरु गरेकी मगरले २ बर्ष अघि कर्णाली बिकास बैकबाट १५ लाख ऋण लिएर ब्यापारलाई उकासिन् ।

२०५९ सालमा चाउमिन उद्योग लिएर अतरिया पुग्दा उनलाई धेरैले पत्याएनन् । तर, उनको लगन अनि विश्वासले नै आज त्यही चाउमिन उद्योग फष्टाएको छ । २०६७ मा नेपालगन्जको राँझामा बुद्ध चाउमिन तथा सस उद्योग संचालन गरिन् ।

अहिले त्यो उद्योगमा ८ जना महिलाले रोजगार पाएका छन् । त्यही ब्यापारले सम्पूर्ण घर खर्च तथा छोराहरुको पढाइ अनि कारोबार चलिरहेको छ ।

राजनीतिक तथा सामाजिक काम उनको सक्रियता निकै छ । उनको ब्यबसायले नै उनको सामाजिक काम धानिरहेको छ । ब्यवसायले उनलाई दाम मात्र होइन नाम पनि दिएको छ ।  उनले भनिन्, ‘ब्यवसाय आम्दानी गर्ने बाटो मात्र होइन । जीवनलाई नजिकबाट बुझ्ने माध्यम बनेको छ ।’ उनको चाउमिन मध्यपश्चिमदेखि सुदुर पश्चिमका जिल्लामा समेत पुग्ने गर्छ । उनको ब्यापार अनि साहस देखेर उनका आफन्त पनि दङ्ग छन ।

आफ्नो उर्जा अनि साहसको प्रेरणा उनी आफ्ना पिता र पतिलाई मान्छिन । भगर भन्छिन, ‘पिताको प्रेरणा अनि पतिको साथले आज यहाँसम्म पुगेकी छु ।’

उनका पति सुनिल थापा बैदेशिक रोजगारका लागि देश बाहिर छन् । जीवन धान्न असहज त छैन । उनले भनिन्, ‘तर आफ्नो पौरखमा बाच्नुको मजा नै बेग्लै छ ।’ उनका एक छोरा छन् । छोरा पढ्नमा ट्याइलेन्ट भएकाले छोराको भबिष्यकालागि बचत गर्नुपर्ने बताइन् ।

उनी मात्र होइन नेपालगन्ज उपमहानगरपालीकास्थित बिपी चोककी सरीता बोहरालाई सहकारीको जागिरमा चित्त बुझेन । उनले आफै सिप सिकेर ब्यवसाय गर्ने निधो गरिन । सोच पलायो ब्युटिपार्लर खोल्ने । अनि आमाले बनाइदिएको सुन बेचेर ब्युटिपार्लर खोलिन ।

१८ बर्षको उमेरमा ब्यवसाय सुरु गरेकी उनलाई अरुको अधिनमा भन्दा आफ्नो धुनमा रमाउन मन लाग्यो । उनी भन्छिन्, ‘अरुको आदेशमा चल्नु भन्दा सानो भए पनि आप्mनै
ब्यबसाय सुरु गरे । बुवाको सानैमा मृत्यु भएपछि घरको अवस्था ठीक भएन । आफुसँग न कुनै जागिर न कुनै सिप ।’ त्यही बेला ब्युटिपार्लर नै सहज अवसर लाग्यो उनलाई । २० हजारको पार्लरले बजारलाई धानेन । आधुनिकता र डिमाण्ड बढ्दै गयो । जसका लागि लगानी आवश्यक थियो । उनले सनराइज तथा ग्रामीण बैंकबाट आठ लाख ऋण लिएर पार्लरलाई अत्याधुनिक बनाएकी छन् । अहिले उनको पार्लरमा १५ लाखको लगानी छ ।

पार्लरको बजार र डिमान्ड बढ्दै भएपछि ब्यबसाय बढाउनुपरेको बोहोरा बताउँछिन । पार्लरले आम्दानीकासाथै आत्मविश्वास पनि बढाएको उनको धारणा छ । बोहरा भन्छिन्, ‘धेरै महिलासँग भेट हुन्छ नयाँ कुराहरु जान्ने अनि बुझ्ने अवसर पाउँछु ।’

उनले पार्लरमा सेवा मात्र होइन, सिप पनि सिकाउँछिन् । उनको पार्लरमा सुर्खेत, कालिकोट, रोल्पा, सल्यानबाट समेत महिलाहरु ब्युटिपार्लर कोर्स सिक्न आउँछन् । उलने भनिन्, ‘थोरैलाई भएपनि सिप बाँढ्ने अवसर पनि पाएको छु ।’

नयाँ-नयाँ डिजाइन नयाँ मेकअपका लागि उनी बार्षिक ५० हजार देखि १ लाखको खर्च जोहो गरेर तालिम लिन काठमाडौ जान्छिन् । बोहरा भन्छिन्, ‘सधै एउटै डिजाइन रहन्न, नयाँ दिनका लागि नयाँ सिप सिक्नुपर्छ ।’ आफै ब्यवसायले जीवन धानिरहेको बोहोरा भन्छिन्, ‘१० बर्षको छोराको भविष्य निर्माण गर्नका लागि पनि कमाउन आवश्यक छ ।’

सानो होस या ठुलो ब्यवसायका यी आँटिला महिलाले आफ्नै आँटमा जीवन धानेका छन् । गर्वले जीवन धानेका मात्र होइन रहरले ब्यवसाय आँटेका महिला पनि कम छैनन् । जस मध्येकी हुन् नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ गगनगन्जकी नितु चन्द । घरको आर्थिक अवस्था ठिकै थियो ।

कुनै अभाव थिएन । तर पनि उनले चुनौती लिन पछि परिनन् । मनले केही गर्नुपर्छ भन्ने आवाजलाई बुलन्द पार्न आफनै लगानीमा आकर्षण बुटिक संचालन गरिन् । उनी भन्छिन्, ‘ब्यापार मेरो लागि रहर भन्दा नि प्यासन हो । त्यही प्यासनले उनलाई थप केही गर्नुपर्छ भन्ने साहस बढायो ।’

१० बर्ष अघि सामुहिक रुपमा संचालन गरेको बुटिक ३ बर्ष अघि मात्र उनले आफ्नो बनाइन् । अनि लगानी पनि थपिन्, ५ लाख । जुन उनले आप्mनै रिक्समा बैकबाट ऋण लगिन् ।
उनी भन्छिन्, ‘चार जना कामदारलाई तलब खुवाएर महिनामा ५० हजार देखि एक लाखको आम्दानी बचत हुन्छ । तर सँधै एकनास हुँदैन ।’ थोरै भएपनि आत्मनिर्भर भएकोमा उनलाइ गर्व लाग्छ । उनी भन्छिन्, ‘आफ्नो खर्चमा आफै रमाएको छु । थोरै भए पनि घरमा पनि सहयोग पुगेको छ ।’

  • २९ श्रावण २०७५, मंगलवार १२:०३ प्रकाशित
  • Nabintech