६ नं. वडा कार्यालयको उद्घाटन
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय आफ्नै वडामा स्थापना गरिएको छ । रझेना गाउँमा स्थापना गरिएको वडा कार्यालयको सोमबार कोहलपुर नगरपालिका प्रमुख
लूट बहादुर रावत र उप–प्रमुख सन्जु कुमारी थारुले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
नगर प्रमुख रावतले कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘सिंह दरबारको अधिकार गाउँ–गाउँमा भनेकै स्थानीय जनताले सरकारबाट प्राप्त गर्ने सेवा सुविधाहरु आफ्नै वडा कार्यालयबाटै सजिलै प्राप्त गर्ने भनेको हो । त्यस्तो काम क्रमशः सबै वडाहरु आफ्नै वडामा स्थापना गरी सेवा प्रवाह भइरहेको छ । आज देखि ६ नं. वडाबासीहरुले पनि आफ्नै वडा बाट सेवा पाउने व्यवस्था गरिएको छ ।’
साथै रावतले वडा स्तरका सबै जनप्रतिनिधिहरु आफ्नो वडाका जनताका समस्याहरु बुझेर सेवा दिने काममा लाग्न आग्रह गरे । रावतले अहिले सम्पत्ति करको बारेमा जनताहरुका बिच केही अन्यौलता रहेकाले जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले राम्रो सँगै बुझाउनु पर्ने सुझाव दिए । वडा नं. ६ का जनप्रतिनिधि र स्थानीयहरुलाई आफ्नो वडामा हुने विकास निर्माणका कामहरुको गुणस्तरीयता भए नभएको निगरानी गर्नु पर्ने बताए ।
कार्यालय उद्घाटन कार्यक्रममा उप–प्रमुख सन्जु कुमारी थारुले संघीय संरचना अनुसार तीन तहको सरकार मध्ये स्थानीय सरकार जनतालाई सेवा प्रवाह गर्ने काममा प्रत्येक्ष रुपमा जोडिएको सरकार भएकाले वडा स्तरबाटै सेवा दिनु यसको महत्वपूर्ण काम भएको बताइन् । थारुले भनिन्, ‘६ नं वडा कार्यालय आफ्नै वडामा स्थापना भएकाले अबस्थानीयबासीहरुलाई वडा स्तरको सेवा लिन सहज हुने छ ।’
त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद देवकोटाले भाडाकै घरमा भए पनि आफ्नै वडामा वडा कार्यालय स्थापना भए पश्चात स्थानीयबासीहरुलाई वडास्तरका सेवा सुविधाहरु लिन सहज हुने बताउँदै अहिले वडाको दरबन्दी अनुसारका सबै कर्मचारी पदपूर्ति नभएकाले कार्यालयले व्यवस्था गरेका कर्मचारीहरुबा नै जनतालाई सेवा दिनु पर्ने अवस्था रहेको जानकारी गराए । कर्मचारीहरुले जनतालाई सेवा प्रवाह गर्दा जनताका मन खुसि बनाएर सेवा दिन सुझाव समेत दिए ।
कार्यक्रममा नेकपाकी नेत्रृ वसन्ती अधिकारी , नेपाली काँग्रेसका नगर सभापति बलराम शर्मा लगायतले वडामा कार्यालय स्थापना गरी वडाबाटै जनतालाई सेवा दिन लागेकोमा सो कार्यका प्रशंसा समेत गरे । उनीहरुले खब जनताले वडा कार्यालय आफ्नै वडामा स्थापना भएकाले सेवा लिन सहज हुने बताए ।
वडा कार्यालयको उद्घाटन कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष रामसोहन थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यालय उद्घाटन कार्यत्रक्रममा विभिनन वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय जनताहरुको सहभागीता रहेको थियो ।

  • २८ श्रावण २०७५, सोमबार २१:५९ प्रकाशित
  • Nabintech