बसपार्क क्षेत्रका ब्यापारीहरु आन्दोलित
  • काँचुली खबर

कोहलपुर बसपार्क क्षेत्रका ब्यापारीहरु आन्दोलित भएका छन । बसपार्क विस्तारको बहानामा बैकल्पीक स्थान बिना नै आफुहरुलाई हटाउन खोजिएको भन्दै त्यहाँका ब्यापारीहरु आन्दोलनमा उत्रिएका हुन ।
बिगत लामो समयदेखि त्यसक्षेत्रमा होटल तथा अन्य ब्यवसाय संचालन गर्दै आएका ब्यापारीहरुले अन्य बिकल्प बिना नै नगर विकास समितिले आफुहरुलाई हटाउन खोजेको आरोप लगाएका छन । तत्कालिन नगर विकास समितिसँगको सम्झौता अनुसार नै आफुहरुले भाडामा त्यस क्षेत्र उपभोग गर्दै आएको बताउँदै बसपार्क सुधार समाजका अध्यक्ष कृष्ण बहादुर रानाभाटले २० वर्ष पहिलेकै मुल्यमा आफुहरुलाई त्यस क्षेत्रको जमिन उपलब्ध गराउनुपर्ने माग गरे ।
‘विगतदेखि बस्दै आएको जमिनको तत्कालिन अवस्थाको मुल्य चुकाउन हामी तयार छौं’, रानाभाटले भने, ‘त्यसो हुन नसके अर्को बैकल्पीक ब्यवस्थाकालागि नगर विकास समितिसँग जोडदार माग गर्दछौं ।’
सोमबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरि बसपार्क सुधार समाजका पदाधिकारी तथा बसपार्क क्षेत्रभित्रका ब्यवसायीहरुले आफुहरुलाई अन्याय गर्न खोजिएको बताए । पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर बसपार्क सुधार समितिका अध्यक्ष रानाभाटले विगत २६ वर्षदेखि व्यापार व्यवसायी गर्दै आएका व्यापारीहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । उनले कोहलपुर नगरविकास समितिले भौतिक संरचना नभत्काउने भन्दै बसपार्क पिच गर्न लागेको अवस्थामा एक्कासि घर–टहरा हटाउन निर्देशन दिएकाले सोको उचित व्यवस्थापन हुनुपर्ने बताए ।
उचित व्यवस्थापनको माग गर्दै कोहलपुर बसपार्क सुधार समितिले सोमबार कोहलपुर नगरविकास समिति, कोहलपुर नगरपालिका, कोहलपुर उद्योग वाणिज्य संघ, कोहलपुर नगरपालिका वडा नं. ११ मा ज्ञापन पत्र पेश गरिएको कोहलपुर बसपार्क सुधार समितिका पूर्व अध्यक्ष लिलाबल्लभ तिवारीले बताए । २०६४ साल फागुन १८ गते कोहलपुर नगर विकासका अध्यक्ष अशोक रोकाय र कोहलपुर बसपार्क सुधार समिति बिच ‘भत्काउनु परेमा नगर विकास समितिले विकल्प सहितको व्यवस्थापन गर्नुपर्नेछ’ भनी सम्झौता भएको स्मरण गर्दै तिवारीले नगरविकास समितिका अध्यक्षलाई सोही सम्झौता अनुसार प्रक्रियामा आउन अनुरोध गरेको बताए ।
बसपार्क निर्माणकालागि आफुहरुले पटक–पटक प्रयास गर्दै आएकोमा हाल त्यसले पूर्णता पाउन लागेकोप्रति खुसी ब्यक्त गर्दै तिवारीले त्यसकालागि आवश्यक सहयोग गर्न आफुुहरु तयार रहेको स्पष्ट पारे । बसपार्क क्षेत्रभित्र रहेका घर-टहरा यथावत राख्न विभिन्न राजनीतिक दलहरुले विगतमा प्रतिवद्वता जाहेर गरेको बताउँदै तिवारीले भने, ‘कोहलपुर बसपार्क व्यवस्थानका लागि संसद, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत प्रतिवद्वता जनाईसकेको अवस्थामा नगरविकास समितिले बल प्रयोग गरी त्यहाँका व्यवसायीहरुलाई हटाउन खोज्नु दुःखद कुरा हो ।’

यस विषयमा बुभ्mदा नगर विकास समितिका अध्यक्ष अवराज खड्काले कोहलपुर बसपार्कलाई कालोपत्रे गरि त्यहाँ कमर्सियल भवन निर्माणकालागि प्रक्रिया अगाडी बढाईएको बताए । उनले आधुनिक प्रविधियुक्त बसपार्क निर्माणमा स्थानिय ब्यापारीहरुको सहयोग महत्वपूर्ण रहने भन्दै त्यसकालागि समयमै बसपार्क क्षेत्रभित्र रहेका घर–टहराहरु हटाउन आग्रह समेत गरे ।
अहिले ब्यवसाय संचालन हुँदै आएको क्षेत्रका ब्यापारीहरुलाई नै लक्षित गरेर अत्याधुनिक भवन निर्माण गरिने भएकाले त्यसबाट आतंकित नहुन समेत खड्काले ब्यापारीहरुलाई आग्रह गरेका छन । उनले झिना मसिना कुराहरुमा अल्झिएर बिकासका पुर्वाधारहरुलाई रोक्न नहुने भन्दै निति र बिधिबाट नै समस्याको हल निकालिने स्पष्ट पारे ।

  • २८ श्रावण २०७५, सोमबार २०:१९ प्रकाशित
  • Nabintech