साँसद ढकालद्वारा महत्वाकांक्षी याेजना सार्वजनिक, कार्यान्वयनमा शंका
  • काँचुली खबर

९ माघ, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले आफ्ना महत्वाकांक्षी याेजना सार्वजनिक गरेका छन । बुधबार काेहलपुर क्षेत्रका संचारकर्मीहरूसँगकाे भेटमा साँसद ढकालले आगामी लक्ष्य सहितका आफ्ना केही याेजना सार्वजनिक गरेका हुन ।

यद्यपि यसअघि नै कार्यान्वयनकाे चरणमा रहेका अधिकाशं याेजनालाई समेटेर ढकालले आफ्ना याेजनाका रूपमा प्रस्तुत गरेका छन । बाँके क्षेत्र नं. १ का पुर्व साँसद महेश्वर गहतराज (अथक) ले सुरू गरेका कतिपय याेजनाहरूलाई साँसद ढकालले नयाँ याेजनाका रूपमा सार्वजनिक गरेका हुन ।

उनले भौतिक पूर्वाधार, सामाजिक रुपान्तरण र युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित महत्वपूर्ण योजनाहरु अघि सारेकाे दावि गरेका छन ।

राप्ती नदीको तटबन्धन, नरैनापुरदेखि अगैयासम्मको सडक निर्माण, कोहलपुर रिङरोडको विकास, कोहलपुर-चप्परगीडी-बड्कयार-घुईयाधारी-सल्यानसम्म जोड्ने पर्यटकीय सडक, मायेबास, महादेवा, चुकेनाला र मलेबी क्षेत्रमा पक्की पुल र तटबन्धन निर्माण आफ्नाे प्राथमिकतामा रहेकाे ढकालले बताए ।

त्यसैगरी सामाजिक पूर्वाधार अन्तर्गत कोहलपुर बाल अस्पतालको स्थापना, कोहलपुर सिटी हल निर्माण, कोहलपुर क्रिकेट मैदान र बेधिक पार्कको विकास, खरका छाना हटाई जस्तापाताको छाना व्यवस्थापन जस्ता कार्यहरूलाई अघि बढाईने उनले बताए ।

राप्ती नदिकाे तटबन्धन, नरैनापुरदेखि अगैयासम्मको सडक निर्माण, कोहलपुर बाल अस्पतालको स्थापना, कोहलपुर सिटी हल निर्माण, कोहलपुर क्रिकेट मैदान र खरका छाना हटाई जस्तापाताको छाना व्यवस्थापन जस्ता याेजनाहरू अथककै नेतृत्वमा सुरू भएका हुन ।

सडक निर्माण अघि खानेपानी, ढल निकास र विद्युतको तारको व्यवस्थापन गरि कालोपत्र गरिएको सडक तीन वर्षसम्म नखन्ने नियमको व्यवस्था हुनुपर्ने उनले बताए । मध्यवर्ती क्षेत्रमा विद्यालय, सडक, खानेपानी र विद्युत सुविधाको विस्तार र पुराना घर भत्काएर नयाँ संरचनाको निर्माणकालागी विशेष याेजनाकालागी पहल भईरहेकाे ढकालले बताए ।

जङ्गलमा सुकेका काठको उपयोग र वन तथा भन्सार कार्यालयमा रहेका साधन र गाडीको व्यवस्थापन समेत आफ्नाे याेजनामा रहेकाे उनले बताए ।

साँसद ढकालले नेपाली युवालाई स्वदेशमै रोजगार दिन उद्योग, कलकारखाना स्थापना र राष्ट्रिय पुँजी निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । “देशको आर्थिक समृद्धि र युवाहरुको स्वदेशमै सहभागिता बढाउन राष्ट्रिय गौरवका योजनाहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्न जरुरी छ,” उनले भने।

सिक्टा सिंचाइ योजना लगायतका योजनाहरुको प्रभावकारितामा जोड दिँदै उनले भने, “सिक्टा सिंचाइ योजना ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो, तर लागत बढेर ५२ अर्ब पुग्नुले ढिलासुस्तीलाई स्पष्ट देखाउँछ । संसद र अनुगमन समितिको सहायताले यो समस्या समाधान गरिनेछ।”

उनले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनमा क्षेत्रका समस्या, बजेट व्यवस्थापन, र जनताका मागलाई प्राथमिकताका साथ प्रस्तुत गरिने सूर्य ढकालले बताए। उनले प्रभावकारी योजनाका लागि आवश्यक कानून र संरचनाहरु निर्माण गर्न संसदमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

साँसद ढकालले आफ्ना प्राथमिकताका याेजनाहरू सार्वजनिक गरिरहँदा त्यसकाे कार्यान्वयनमा भने चुनाैति देखिएकाे छ । साँसद भएकाे २ वर्षसम्म ढकालकाे पहलमा जनताले महशुस गर्ने गरी कुनै याेजना अघि नबढेकाे भन्दै यहाँका स्थानियहरूले अहिले सार्वजनिक भएका याेजना कार्यान्वयनमा आउनेमा शंका ब्यक्त गरेका छन ।

ढकालले यसअघि समेत पत्रकार सम्मेलनमार्फत यस्तै याेजना सार्वजनिक गरेपनि हालसम्म कुनै याेजना अगाडि बढ्न नसकेकाे भन्दै संचारकर्मिहरूले प्रतिप्रश्न समेत गरेका थिए ।

  • ९ माघ २०८१, बुधबार १९:४४ प्रकाशित
  • Nabintech