शवदाह गृह मानववस्तीबाट अन्यत्रै सार्न स्थानीयको माग
  • काँचुली खबर

१३ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गर्ने भनिएको शवदाह गृहको स्थान परिवर्तन गर्न स्थानियहरुले माग गरेका छन । सोमबार कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउदै स्थानियहरूले मानववस्ति नजिक शवदाह गृह निर्माण गर्न नहुने भन्दै बिरोध जनाएका हुन ।

कोहलपुर नगरपालिका वडा नं. १० र ११ का स्थानियहरूले वस्ति नजिक शवदाह गृह निर्माण हुदा आफुहरूलाई शारीरिक तथा मानसिक असर पर्ने भन्दै उपर्युक्त ठाउमा शवदाह गृह सार्न आग्रह गरेका छन ।

धुवाँधुलो र खरानीले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा असर पर्ने भन्दै शवदाह गृह अन्यत्र निर्माण गर्न उनीहरूले माग गरेका हुन् ।

शवदाह गृह निर्माण गर्दा स्थानीयको सल्लाहबिना निर्माण कार्य थालिएको भन्दै उनीहरूले आपत्ति समेत जनाएका छन । कोहलपुर नगरपालिका-११ एकता नगरको पूर्व वधशाला नजिकै निर्माण हुन लागेको शवदाह गृहले स्थानीयको स्वास्थ्यमा असर गर्नुका साथै ढल व्यवस्थापनलगायतका कुुरामा समस्या पर्ने कोहलपुर-११ टोल विकास समितिका अध्यक्ष घनबहादुर चौधरीले बताए ।

एकता नगर बस्ती राज्यको नजरबाट पछाडि परेको र हालसम्म उल्लेखनीय विकास हुन नसेको सुनासो गर्दै उनले त्यसमाथि शवदाह गृह निर्माण गरेर यसलाई मसानघाट नै बनाउन खोजिएको गुनासो गरे । स्थानीयको सल्लाह बिनै अकस्मात शवदाह गृह निर्माणको थालनी गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ ।

कोहलपुरका विभिन्न ठाउँका स्थानीय आएर मर्निङवाक गर्ने ठाउँमा कुनै सर्वेबिना शवदाह गृह निर्माण थालिनु कति उचित होला रु स्थानीय तेजबहादुर कार्कीले प्रश्न गरे । यसै पनि दशबिघा अस्पतालको ढलमिश्रित फोहोरबाट वाक्क भएका यहाँका स्थानियलाई शवदाह गृह निर्माण गरेर नगरपालिकाले उठिबास गराउन खोजेको उनले दुखेसो पोखे ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले स्थानीयको ज्ञापनपत्र बुझ्दै झट्ट सुन्दा शवदाह गृह नराम्रो लागे पनि आधुनिक बन्ने भएकाले त्यस्तो समस्या नआउने दाबी गरे । अझै पनि सबै मिलेर पुनः एकपटक अनुगमन गरिने उनले बताए । अत्याधुनिक शवदाह गृह बन्ने भएकाले वातावरण प्रदूषण नहुने उनको भनाइ छ ।

गत असोज २० गते नगर प्रमुख आचार्यले सो शवदाह गृहको शिलान्यास गरेका थिए । करिब १ करोड २५ लाख रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको शवदाह गृह निर्माणका लागि नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोहलपुुरका व्यवसायी चक्र अधिकारीलाई संयोजक तोकिएको छ ।

सोका लागि कोहलपुर नगरपालिकाले चालू आवमा १५ लाख रुपैयाँ छुट्याएको छ भने नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण सहयोग लिएर सो शवदाह गृह निर्माण गर्न लागिएको हो ।

  • १३ कार्तिक २०८१, मंगलवार १२:५१ प्रकाशित
  • Nabintech