रविमाथि अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने
  • काँचुली खबर

८ कात्तिक, काठमाण्डौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अख्तियारको दुरुपयोग गरेको र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने भएको छ ।

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न कास्की प्रहरीले पत्र लेख्ने तयारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न पाउँछन् ।

प्रहरीले रविले राजनीतिमा प्रवेश गर्नु अघिदेखि हालसम्म जोडेको सम्पत्ति र उनको परिवारको चलअचल सम्पत्ति सम्बन्धमा छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा र अख्तियारको दुरुपयोग गरेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानका लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतले कास्की प्रहरीलाई दुबै निकायमा अनुसन्धानका लागि लेखि पठाउन निर्देशन दिइएको बताएको छ ।

गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

अहिले कास्की प्रहरीमा लामिछानेको बयान चलिरहेको छ । उनीसँग सीआईबीका डीएसपीको नेतृत्वको अनुसन्धान टोलीले बयान लिइरहेका छन् ।

  • ८ कार्तिक २०८१, बिहीबार १७:१७ प्रकाशित
  • Nabintech