प्रतिवेदनले सिफारिस गरेका सबैलाई पक्राउ गर्नुपर्छ : प्रचण्ड
  • काँचुली खबर

५ कात्तिक, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताएका छन ।

सोमबार बिहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन । प्रतिवेदनले सिफारिस गरेका अन्य दोषी भनिएकाहरुलाई पनि छानबिनकालागि सरकारले पक्राउ गर्नुपर्ने उनको भनाइ छ ।

वर्तमान अवस्थामा देखिएका विभिन्न विषयलाई समेटेर माओवादी केन्द्र लगायतका प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उनले जानकारी दिए । सोमबार बेलुका प्रतिपक्षी दलले विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उनले बताए ।

लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रुपमा लिनुपर्ने प्रचण्डले बताए ।

जुम्लाको सिंजामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जाने क्रममा नेपालगन्ज आईपुगेका अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वर गहतराज, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री नमुना केसी, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे लगाएतका नेताहरुले स्वागत गरेका थिए ।

  • ५ कार्तिक २०८१, सोमबार १३:५८ प्रकाशित
  • Nabintech