२२ साउन, लुम्बिनी । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीलाई प्रदूषणरहित बनाउन र पर्यटकको सुविधाका लागि भनेर ४ वर्षअघि ल्याइएका विद्युतीय सवारी साधन (बिजुली बस) चल्दै नचली थोत्रिएका छन् ।
एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र ‘भ्यान’ प्रयोगमा नआई खुला आकाशमुनि थन्किएका हुन् । संघको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमार्फत लुम्बिनी ल्याइएका बस लुम्बिनी विकास कोषको कार्यालय परिसरबाहिर थन्किएको ४ वर्ष पुग्यो ।
लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी बुद्ध सर्किट सञ्चालन गर्ने भनेर अत्याधुनिक सुविधासहितका ५ वटा बस र १४ वटा काररभ्यान ल्याइएका थिए ।
सेतो नम्बर प्लेटका गाडी हरियोमा ‘कन्भर्ट’ गर्ने प्रदेश सरकारको निर्णयलाई यातायात व्यवस्था कार्यालयले नमान्दा लुम्बिनी ल्याइएका ‘इलेक्ट्रिक भेइकल’ थन्किएरै बिग्रिने अवस्थामा पुगेका हुन् । बसका ठूल्ठूला शिशा फुटेका छन् । टायर पञ्चर हुनुका साथै सीट पनि च्यातिएका छन् । रंग खुइलिँदै गएको छ ।
ब्याट्री समेत चार्ज हुन छाडेका छन् । ४ वर्षसम्म नचलेपछि लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाली सेनाले एउटारएउटा गाडी दिन माग गरेका छन् ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले राज्यको निरीहताले गाडी पनि चलाउन नसकिएको बताए ।
‘म त यो विषयमा लड्दालड्दै थाकिसकें,’ भट्टराईले भने, ‘दर्ता गर्ने निकाय ९यातायात०ले सेतो नम्बर प्लेटलाई हरियोमा बदल्ने कानून छैन भन्छ । क्याबिनेटको निर्णय मानेर काम गर्दैन । अहिले त हुँदाहुँदा गाडी सबैले माग्न थालिसके ।’
उनले थपे, ‘सरकारले सेतो प्लेटमा भए पनि चलाऊ भनेर पत्र दिए हामी चलाउन तयार थियौं । त्यो पनि पाइँदैन, अब के भनौं ?’
दातृ निकायबाट आएका महत्त्वपूर्ण सवारी साधन आन्तरिक कारण देखाउँदै चलाउन नसक्दा लुम्बिनीप्रति अन्तर्राष्ट्रिय जगतमा समेत नराम्रो सन्देश गएको छ ।
८ वैशाख २०८० मा लुम्बिनीमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले दाताबाट अनुदानमा प्राप्त गाडीलाई हरियो ‘नम्बर प्लेट’ मा रूपान्तरण गरी सेवा दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’अन्तर्गत १३ करोड रूपैयाँ लागतमा कोषलाई विद्युतीय बस प्राप्त भएका थिए । एउटा बसको मूल्य २ करोड र भ्यानको ४० लाख रुपैयाँ छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारीसाधन चलाउनमा आइपरेका कानूनी अड्चन फुकाउन प्रदेश सरकारले सहजीकरण गर्ने र सवारीसाधनलाई कामविहीन बनाएर राख्न नहुने बताए ।
‘कसरी हुन्छ, ती सवारीसाधन चलाउनुस् । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी कामविहीन बनाएर राख्दा सन्देश राम्रो जाँदैन । कानूनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउँछौंं ।’
यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा मात्रै ३ करोड ५० लाखभन्दा बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ । यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रुपैयाँ लगानीमा चार्जिङ स्टेसन समेत बनिसकेको छ । लुम्बिनीमा १७ स्थानमा चार्ज गर्ने व्यवस्था छ ।
चल्ने अवस्था नदेखिएपछि भ्यान कारमा भने विकास कोषका कर्मचारीले रजाइँ गरेका छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्यसहित पदाधिकारी र शाखा प्रमुखहरूले कार र भ्यान प्रयोग गरिरहेका छन् ।
गत निर्वाचन (२०७९) को समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि झण्डै १ महिना विभिन्न रूटमा ती बस चलेका थिए । त्यतिबेला बिग्राएका बस मर्मत समेत गरिएको छैन ।
गाडी सामान्य बिग्रिँदा पनि बनाउने वर्कसप, मिस्त्री र सामान्य पार्टपूर्जा समेत नपाइने समस्या छ ।
शान्तिभूमि लुम्बिनीमा धूवाँ र ध्वनिबाट हुने प्रदूषण घटाउन र पर्यटकलाई स्तरीय यातायात सुविधा दिन भन्दै विद्युतीय बस सञ्चालनकालागि बुद्ध जन्मस्थल लुम्बिनीदेखि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, मावली देवदह, बुद्धको अस्थीधातु रहेको नवलपरासीको रामग्राम हुँदै तिलौराकोटसम्मको रूट तय गरिएको छ ।
त्यसबेला किनिएका १३० बिजुली रिक्सा कोष आसपासमा सञ्चालनमा छन् ।
करोडौंका विद्युतीय सवारी अलपत्र पार्ने लुम्बिनी विकास कोष र सरकारी संयन्त्रविरुद्ध जनदबाब जरुरी देखिएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । ‘कम्तीमा एउटा कार्यविधि बनाएर चलाउनुपर्छ । नत्र निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्छ । यस्तो विचित्र अवस्थामा छाडेर हुँदैन,’ जिसीले भने ।
गाडी चलाउनका लागि सरोकारवाला र पर्यटन व्यवसायीले खबरदारी गर्नुपर्ने आवश्यकता देखिएको अध्यक्ष जिसीको भनाइ छ ।
बस र काररभ्यान सबै अत्याधुनिक हुन् । १९ सीट क्षमताका बसमा उभिँदा ३५ जनासम्म अटाउँछन् । बस अपांगमैत्री छन् । स्वचालित खुल्ने ढोकावाला बसमा आनन्ददायी सीट छन् । कार्डले स्टार्ट हुने गरी आवाजरहित व्यवस्था छ ।
एकपटक फूल चार्ज गरे ४०० किलोमिटर गुड्छ । आपतकालीन अवस्थाका लागि ठूल्ठूला ढोका छन् । बस रोक्नका लागि सीट-सीटमा बेलबटम छन् । थिच्नासाथ चालक छेउको बत्ती बल्छ ।
८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनी बस एकैपटक ‘क्विक चार्ज’ गर्न सकिन्छ । क्विक चार्जरबाट फूल चार्ज हुन आधी घण्टा लाग्छ ।
बस नचल्दा लुम्बिनी क्षेत्रको पर्यटन विकासमा ठूलो लगानी गर्दै आएको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाले आगामी दिनमा के गर्छ भन्ने प्रश्न खडा भएको छ ।
लोकान्तरबाट
२२ आश्विन २०८१, मंगलवार १४:५४ प्रकाशित