राप्रपा महामन्त्री राणालाई गिजाको क्यान्सर
  • काँचुली खबर

१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको हो । राणा उपचारका लागि एक साता अगाडि भारत पुगेका छन् । अहिले मुम्बईको एउटा अस्पतालमा उनको उपचार भइरहेको छ । सबै स्वास्थ्य परीक्षणहरु भइसकेको र आज राति ११ बजे रिपोर्ट आउने जानकारी उनी निकट राप्रपा सहमहामन्त्री ऋषि देवकोटाले दिए ।

डा। राणाको गिजामा ३-४ वर्ष अगाडिदेखि समस्या थियो । नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो । चिकित्सकले पहिलो स्टेजको क्यान्सर भएको बताएपछि उनी भारततर्फ लागेका हुन् ।

राणाको ससुराली खलक भारतमा छन् । उनकी पत्नी भारतको राज खान्दान सिन्धिया परिवारकी सदस्य हुन् । पुराना राप्रपा नेता डा. पशुपति शमशेर राणा र धवलशमशेर राणाले एउटै खलकमा विवाह गरेका थिए । धवल शमशेरका ससुराली परिवार भारतमा राजनीति नै गरिरहेका छन् । उनका साला र सालीले भर्खरै सम्पन्न आम चुनावमा भाजपाबाट महाराष्ट्रमा जितेका थिए ।

निकटस्थका अनुसार धमल शमशेरको कुनै पनि कुलत र अम्मल थिएन । उनले चुरोट र खैनी कहिल्यै सेवन गरेका छैनन् । मदिरा भने पिउँछन् । ६२ वर्षको उमेरमा पनि राणा निकै फुर्तिला छन् । उनी नियमित जिम गर्ने गर्छन् । घरमा पनि जिमका सामानहरू राखेका छन् ।

डा। राणा विगतमा खेलाडी पनि थिए । उनी गल्फ खेल्ने गर्थे । खेलकुदमा लागेकाले उनी शारीरिक रुपमा पार्टीका अन्य नेताभन्दा फिट छन् । लामो समयदेखि गिजामा समस्या भए पनि उनलाई बोल्न र भाषण गर्न खासै असुविधा भएको थिएन ।

राप्रपा सहमहामन्त्री देवकोटाले राणाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले भने, ‘मेरो हिजो कुराकानी भएको थियो । उहाँले आफूलाई कुनै समस्या नरहेको र क्यान्सर कसरी भयो भनेर छक्क परेको बताउनुभयो । आज रिपोर्ट आएपछि उपचारको विषयमा टुंगो लाग्छ ।’

पहिलो चरणको क्यान्सर भएकाले उपचारपछि स्वस्थ हुनेमा राणा विश्वस्त रहेको देवकोटाले जानकारी दिए ।

हिजो मात्रै राप्रपाले पार्टीको संगठन विभाग प्रमुखबाट राणालाई हटाएको थियो । उपचारका लागि विदेशमा रहेको बेला ‘कारबाही’ भएको भन्दै उनी निकटस्थहरू दुखी छन् । राप्रपा संस्थापन पक्षले भने यो कुनै कारबाही नभएर नियमित हेरफेर भएको बताएको छ ।

राणाले उपचारका लागि भारत जानुअघि सामाजिक सञ्जालमा जानकारी गराएका थिए । यद्यपि, उनलाई क्यान्सर भएको चाहिँ कमै नेतालाई मात्र थाहा थियो ।

राणा राप्रपाका निर्वाचित महामन्त्री र प्रतिनिधिसभा सांसद समेत हुन् । उनी गत आमनिर्वाचनमा बाँके २ बाट २९ हजारभन्दा बढी भोट ल्याएर विजयी भएका थिए ।

जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई उनले हराएका हुन् । त्यसअघि उनी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर समेत थिए ।

  • १८ आश्विन २०८१, शुक्रबार १७:१२ प्रकाशित
  • Nabintech