लुम्बिनी प्रदेशका पूर्व मन्त्री गुप्ता बिरुद्ध उजुरी दर्ता
  • काँचुली खबर

११ असोज, दाङ । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश (सिके) गुप्ताविरुद्ध महिला हिंसासम्बन्धी उजुरी दर्ता भएको छ ।

गुप्तापत्नी कान्तिले राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गुप्ता र उनको परिवारविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुर हालेकी छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ निवासी गुप्तासँग छ वर्षअघि नवलपरासीको प्रतापपुर गाउँपालिका-९ निवासी कान्तिकुमारी यादवको परम्परागत मागी विवाह भएको थियो । श्रीमान र सासू-ससुराले नियमित रुपमा मानसिक तथा शारीरिक यातना दिएको जनाउँदै पीडित कान्तिले उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुवै पक्षलाई राखेर छलफल गराएका थिए । यद्यपि गम्भीर विवाद टुंगो लागेको छैन ।

गत वर्ष पनि गुप्ताविरुद्ध यस्तै उजुरी परेको थियो । त्यतिबेला मन्त्रीको जिम्मेवारीमा रहेकाले आगामी दिनमा पुनः गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता जनाएपछि छाडिएको थियो । तर उनी नसुध्रिएकाले उजुरी गर्नुपरेको कान्तिले बताइन् । गुप्ता रुपन्देहीको क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

उनीहरुका ४ वर्षकी छोरी र २ वर्षका छोरा छन्।

  • ११ आश्विन २०८१, शुक्रबार १२:३१ प्रकाशित
  • Nabintech