चित्तल बोकेर हिडिरहेका सिकारी पक्राउ, तीन जना फरार
  • काँचुली खबर

६ साउन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् ।

बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले कोहलपुर नगरपालिका-१३ का थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फ निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै वन्यजन्तुको सिकारमा सम्लग्न अन्य फरार रहेका जनाउँदै उनीहरुको खोजी भइरहेको उनले बताए ।

“चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो”, साहले भने, “गस्ती टोली आएको थाहा पाएर भागेका तीन जना अझै फरार छन् । मोहन थारू भने मरेको चित्तलसहित पक्राउ परेका हुन् ।”

पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेको अधिकृत साहले जानकारी दिए । उनले अन्य सिकारीहरु घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरु सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिए ।

  • ६ श्रावण २०८१, आईतवार १३:१७ प्रकाशित
  • Nabintech