१३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएका उजुरी जिल्लामै फस्र्यौट भएको सङ्ख्या भने न्यून रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेको सम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा आएको बताए ।
उनले आर्थिक लाभ सम्बन्धी ५ वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फर्स्यौट गरिएको जनाउँदै आर्थिक लाभ सम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको बताए ।
सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट पैसा पठाइदिन अनुरोध गरिएका म्यासेजमा पठाइएका खाता नम्बर अपरिचितको हुँदा सचेत व्यक्तिले त्यस खालका ठगीको प्रयासका पोष्ट गर्दै आएका हुन् । ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइन्छ ।
सोही कारणले चिठ्ठा, तालिम, बैङ्क खाताको ओटिपी माग गरी ठगी भइरहेको बारे प्रहरीले सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गोरखापत्रबाट
१३ बैशाख २०८१, बिहीबार १९:०० प्रकाशित