जिल्ला प्रशासन कार्यालय बाँकेद्धारा बजार अनुगमन तिब्र
  • काँचुली खबर

६ पुष, नेपालगन्ज । बाँके प्रशासनले बजार अनुगमनलाई तिब्रता दिईरहेको छ । प्रशासनले जिल्लाका विभिन्न क्षेत्रका बजारमा दैनिक रुपमा सशक्त अनुगमन गर्दै आएको छ ।

अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत कार्य गरी उपभोक्ता ठगी गर्दै आएका व्यापारीहरुलाई कानुन बमोजिम कारबाही प्रशासनले गरेको छ ।

दैनिक अनुगमनको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायसहितको अनुगमन टोलीले बिहीबार नेपालगन्जका विभिन्न माछा तथा मासु विक्री गर्ने पसलहरुको अनुगमन गरेको छ ।

नेपालगन्जको जमुनाह र धम्बोझी बजारक्षेत्र आसपासका विभिन्न नौ वटा माछा तथा मासु पसल अनुगमन गर्दा छ वटा पसलले उपभोक्तालाई ठगी गरेको पाइएपछि तिनीहरुलाई कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

मो. सरिफ फ्रेश हाउसले बिल बिजक बिना कारोबार गरेको पाइएकाले तत्काल कारबाहीस्वरुप २० हजार रुपियाँ जरीवाना गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । उक्त पसलबाट खसीको मासु ७ किलो र कुखुराको मासु ३.८ किलो खान अयोग्य रहेको पाइएकाले जफत गरी नष्ट गरिएको थियो ।

प्रजिअ पोखरेलका अनुसार अल्लाह बिस्मिल्लाह फ्रेस हाउसले पनि बिल बिजक बिना कारोबार गरेको पाइएकाले १० हजार रुपियाँ जरिवाना गरिएको थियो ।

सुफियाना फ्रेस हाउसबाट मङ्गुर माछा ३ किलो, कुखुराको मासु २.५ किलो र अन्य जातको माछा २९ किलो खान अयोग्य पाइएकाले जफत गरी नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेको पाइएकाले ५ हजार रुपियाँ जरीवाना गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताए ।

हाम्रो फ्रेस हाउसबाट पनि खसीको मासु ११ किलो र कुखुराको मासु ३.५ किलो खान अयोग्य रहेको पाइएकाले जफत गरि नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेकाले २० हजार रुपियाँ जरिवाना गराइएको उनले जानकारी दिए ।

त्यसैगरी जमुनाह बजार क्षेत्रमा खुल्ला रुपमा सडक पेटीमा माछा बेचिरहेका दुई जना विक्रेताले अनुगमन टोलीलाई देखेर भागी फरार भएको प्रजिअ पोखरेलले जानकारी दिए । विक्री स्थलबाट ३५ किलो माछा बरामद गरी नष्ट गरिएको थियो । सो स्थानबाट ८ हजार २ सय ८० रुपियाँ नगद, नोकिया मोबाइल एक थान, माछा काट्ने औजार र ढक तराजु दुई थान बरामद गरी मुचुल्कासहित स्थानीय जमुनाह प्रहरीलाई बुझाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

कुनै पनि बहानामा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरी उपभोक्ता ठग्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाहीको दायरामा ल्याइने र उपभोक्ताको हित अनुसार काम गर्ने गरी दैनिक रुपमा प्रशासनको नेतृत्वमा सरोकारवाला निकायको सहभागितमा बजार अनुगमनलाई तीव्र रुपमा निरन्तरता दिइने प्रजिअ पोखरेलले बताए ।

  • ६ पुष २०८०, शुक्रबार १३:५१ प्रकाशित
  • Nabintech