मुगु हत्याकाण्ड : कोहलपुर बस्ने ठकुरी र बोहोरा पक्राउ
  • काँचुली खबर

२४ कात्तिक, कोहलपुर । मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका ३१ वर्षीय गोरखराज शाही ठकुरी र ३१ वर्षीय गोपाल बोहोरा छन् ।

सामूहिक हत्यामा संलग्न आरोपित हत्यापछि हिँडेर जुम्लासम्म पुगेको तथ्य खुलेको छ । मुगुस्थित पिना गाउँपालिका वडा नम्बर-७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले हत्यापछि हिँड्दै जुम्ला पुगेका हुन् । जुम्लाबाट गाडी चढेर उनी सुर्खेत आएका थिए । ठकुरी लामो समयदेखी कोहलपुर बस्दै आएको प्रहरी स्रोतले जनाएको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले गोर्खराज र मृतक २८ वर्षीय श्रीदेवी बोहराको ‘भाइ’ नाता पर्ने गोपाल बोहोरालाई पक्राउ गरेको छ । गोपाल बोहराचाहिँ मन्दु गाउँमै बस्छन् ।

रातभर हिँडेर जुम्ला पुगेका गोर्खराजले बाटोमा ‘जडीबुटी ब्यापार गर्छु’ भनेको स्थानीयहरूले बताएका छन् । गोर्खराज शाही ठकुरीलाई कार्तिक २० मा सुर्खेतको पञ्चकोशीटोलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न गोपालले हत्या स्वीकार गरेका छन् । सुरुमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नेगरी सक्रियता देखाएका गोपालले अनुसन्धान मृतकको मोबाइलमा केन्द्रित भएसँगै गोर्खराजलाई फोन गरेर ‘मोबाईल फाल्नु’ भनेका थिए । त्यसपछि सुर्खेतमा बाँसको झाङमा गोर्खराजले मोबाइल फालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । हत्याको उद्देश्य लुटपाट मात्रै भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यापछि गोर्खराज र गोपालले श्रीदेवीले बोक्ने गरेको ओप्पो मोबाइल १ थान, कानमा लगाएको २.५ तोला सुनको रिङ र २५ ग्रामको सुनको तिलहरी लुटेर भागेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । हत्याराले श्रीदेवी र उनका पति दीपक बोहोराको नामको २ थान चेक, लालपुर्जा र ६ हजार नगद पनि लुटेका अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि गोपाल बोहोरा गाउँमै बसे भने गोर्खराज फरार भए ।
-रातोपाटीबाट

  • २४ कार्तिक २०८०, शुक्रबार १४:२८ प्रकाशित
  • Nabintech