पक्राउ पर्ने डरले सर्बेन्द्र खनाल अमेरीका भागेको आशंका
  • काँचुली खबर

११ भदौ, काठमाण्डौं । एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल देश छाडेर भागेको खुलासा भएको छ ।

खनाल भागेर अमेरीका पुगेको सूचना प्रहरीले पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उच्च श्रोतका अनुसार खनालको ६० केजी सुन तस्करीमा संलग्नता देखिएको थियो ।

प्रहरीले पक्राउको तयारी गरेको सूचना पाएपछि खनाल रातारात भागेको ती अधिकारीले बताए । प्रहरी उच्च नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खनाल भागेर अमेरीका पुगेको जानकारी गराएका छन् ।

‘पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि उहाँ रातारात भागेर अमेरीका पुग्नुभएछ’, प्रहरी नेतृत्वले गरेको रिपोर्टिङ उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठको सचिवालयका एक सदस्यले भने । खनालको ६० केजी सुन तस्करीका नाइके चिनियाँ मुलुका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको सीआईबी श्रोतले जनाएको छ ।

खनाललाई एमालेले गत मंसिरमा भएको आमनिर्वाचनमा काठमाण्डौं-६ र १० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार बनाएको थियो । काठमाण्डौं-६ मा रास्वपाका शिशिर खनाल र तनहुँ-१ मा रास्वपाकै डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । दुवै निर्वाचनमा उनी तेश्रो भए ।

खनाल भागेको भन्ने सूचनालाई प्रहरीको सीआईबीले केही दिनअघि सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेबाट पनि पुष्टि हुन्छ । प्रहरीले केही दिनअघि पत्राचार गरी सुन तस्करीमा संलग्नहरुलाई पक्राउको लागि सहयोग मागेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि तस्करीमा खनाल संलग्न रहेको संकेत गरेका थिए । प्रतिनिधिसभा बैठकमा गत बिहीबार विषेय समयमा बोल्दै उनले तस्करीमा केही पूर्वप्रहरी महानिरीक्षक पनि संलग्न रहेको सूचना आफूसँग भएको बताएका थिए ।

‘प्रहरीका केही पूर्वप्रमुखको दावासँग कुराकानी भएको सूचना आएको छ । यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस्’, लामिछानेले भनेका थिए ।
– काठमाण्डौंटुडेबाट

  • ११ भाद्र २०८०, सोमबार १८:५० प्रकाशित
  • Nabintech