१ साउन, काठमाडौँ । नेपाल एयरलाइन्सले एक वर्षमा सावाँ र ब्याज गरी पौने ४ अर्ब रुपैयाँ ऋण तिर्न सफल भएको छ । नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७९/८० मा सावाँ र ब्याज गरी ३ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ ऋण भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनका अनुसार नेपाल एयरलाइन्सले २ न्यारोबडी र २ वाइडबडी जहाज किन्न ल्याएको ऋण दायित्वमध्ये ३१ असारका दिन मात्र ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको छ । यो रकम कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको हो ।
यसअघि निगमले २०७९ असारदेखि २०७९ चैतसम्म २ अर्ब ९४ करोड २८ लाख ६५ हजार सावाँरब्याज भुक्तानीमा खर्च गरेको थियो ।
निगमको व्यापार विस्तार तथा आम्दानीमा सुधार भएको र यसले पुराना बक्यौता तिर्न र दुई कोषलाई किस्ता तिर्न सहज भएको बताएको छ ।
निगमले आफ्नै स्रोतबाट ३ वटा नयाँ जहाज दुर्गम भेगमा उडाउने गरी खरीद प्रक्रिया अगाडि बढाएको बताएको छ । यसबाट भाडा दर सन्तुलन हुने तथा राष्ट्रिय उत्तरदायित्व बहनमा समेत निगमले भूमिका खेल्ने प्रवक्ता पौडेलले बताए ।
वर्तमान नेतृत्वले जिम्मेवारी सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको उनको भनाइ छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको पौडेलले बताए ।
१ श्रावण २०८०, सोमबार १७:३८ प्रकाशित