युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार समितिको बैठकमा बोल्दै उनले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता राज्यमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।
मन्त्री गहतराजले बजेट अभावकै कारण खेलाडीहरुको मनोबल उच्च बढाउन र खेलकुद क्षेत्रको पूर्वाधार विकासका कामहरु अघि बढाउन नसकिएको पनि स्पष्ट पारे ।
उनले अदालतका अल्पकालिन आदेशका कारण पनि खेलकुद क्षेत्रको, युवाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रमहरु अघि बढाउन समस्या भईरहेको स्मरण गराए । मन्त्री गहतराजले खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिनका लागि त्यसमा लगानी बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्याए ।
उनले भने, ‘खेलकुद क्षेत्रमा लगानी बढाउने दिशामा संसदीय समितिको समेत ध्यान जानुपर्ने मैले देखेको छु । यो अन्तर्राष्ट्रिय जनसम्बन्धको क्षेत्र पनि हो । त्यसकारण यो क्षेत्रमा गरिने लगानी अनुत्पादक हुँदैन भन्ने कुरा समितिले चासो दिए लगानी वृद्धि हुने र त्यसबाट राम्रो प्रतिफल प्राप्त हुन सक्ला भन्ने मलाई लागेको छ ।’
मन्त्री गहतराजले भने, ‘राष्ट्रिय बजेटको १.१६ प्रतिशत मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको छ, यो बजेट आवश्यकताले नभई दया गरेर विनियोजन भएजस्तो भान हुन्छ, मुलुकको जनसङ्ख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि सम्पूर्ण कार्यक्रम यसबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
मन्त्रालय र मातहतका निकायबाट भइरहेका कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै उनले राष्ट्रिय प्रतियोगितामा समावेश हुने ३७ खेल विधाका लागि मुलुकभरबाट २१ हजार खेलाडीका लागि आधारभूत खेलकुद प्रशिक्षण प्रदान भइरहेको र एशियन तथा ओलम्पिक खेलकुदमा समावेश हुने २६ खेलका ७५० खेलाडीको लागि नियमित प्रशिक्षण चलिरहेको पनि सो अवसरमा जानकारी दिए ।
बैठकमा बोल्दै मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले खेलकुद क्षेत्रको गतिविधिलाई चलायमान हुने गरी आवश्यक ऐनहरु संशोधनको कामलाई अघि बढाइएको जानकारी समितिलाई गराए। उनले सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण राष्ट्रिय खेलकुद परिषदलगायतका निकायहरुको काम प्रभावित भईरहेको बताए ।
सचिव रेग्मीले खेलाडीहरुको मनोबल बढाउन र युवाहरुलाई सशक्तिकरण गरेर राष्ट्र निर्माणमा लगाउने खालका काम बजेटको अभावमा प्रभावकारी हुन नसकेको बताए ।
३ फाल्गुन २०७८, मंगलवार २१:५३ प्रकाशित