राखेपका बोर्ड सदस्यसँग स्पष्टिकरण माग
  • काँचुली खबर

राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरीएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको हो । मन्त्रालयका अनुसार राखेपको अध्यक्षको हैसियतमा मन्त्री महेश्वरजंग गहतराज (अथक)ले राखेपको बोर्ड बैठक राख्न सदस्यले भुमिका नखेलेको भन्दै उनिहरुसँग स्पष्टिकरण माग गरेका हुन ।
खेलकुद संघबाट मनोनित भएका रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी तथा बिज्ञको रुपमा मनोनित इन्दिरा निरौला, रिम रानाभाटसँग स्पष्टिकरण माग गरीएको हो । त्यसैगरी गोपाल खनाल तथा गोबिन्द भट्टराईसँग समेत स्पष्टिकरण माग गरीएको मन्त्रालयले जनाएको छ ।
उल्लेखित सबै बोर्ड सदस्यलाई तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए । सरकारले कात्तिक १ गते राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो । सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारले सिलवाललाई पदमुक्त गरेको थियो ।
सिलवाललाई पदमुक्त हुने निर्णय गरे लगत्तै खेलकुद मन्त्री गहतराजले राखेपका बोर्ड सदस्यले राजीनामा दिन उपयुक्त हुने धारणा राखेका थिए । उनले वर्तमान सरकार फरक राजनीतिक कोर्सबाट निमार्ण भएको उल्लेख गर्दै बोर्ड सदस्यको राजीनामा पर्खिएर बसेको बताएका थिए ।
परिषदको अध्यक्षको हैसियतले मनोनित बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेपनि मन्त्रीपरिषदबाट मनोनित सदस्यलाई भने स्पष्टिकरण नसोधिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रीपरिषदबाट मनोनित बोर्ड सदस्यको हकमा मन्त्री परिषदबाटै निर्णय गर्ने सरकारको तयारी छ ।

  • २८ कार्तिक २०७८, आईतवार १५:१६ प्रकाशित
  • Nabintech