शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कोरोना भाइसर (कोभिड-१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन ।
फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी दिए । महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्त्वको बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तिकरण जस्ता प्रमुख क्षेत्रहरूमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दीगो विकासका लक्ष्यहरूलाई अपनाएको जानकारी गराए । विकासका प्रयासहरूलाई निर्देशित गर्न सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय नारा बनाएको पनि उनले बताए ।
साथै, ‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उनले बताए ।
महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएको उनले जानकारी गराए । वैकल्पिक शिक्षामा राम्रो अनुभवका लागि आफूहरू डिजिटल प्लेटफर्म डिजाइन र कार्यान्वयनको प्रयासमा रहेको उनको भनाइ छ ।
विज्ञान र प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री पौडेलले आविष्कार र अनुसन्धानलाई बढावा दिनुका साथै युवा वैज्ञानिकहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा अर्को कदम चाल्न प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
त्यसैगरी, हरितगृह ग्यास उत्सर्जनमा नगण्य हिस्सा भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरबाट नेपाल नराम्ररी प्रभावित बनेको मन्त्री पौडेलले बताए । पेरिस सम्झौताको कार्यान्वयनमा प्रतिबद्ध रहेको जानकारी गराउँदै उहाँले जलवायु-उत्थानशील विकास मार्गहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको दोहोर्याएका छन ।
मूर्त र अमूर्त सम्पदाको संरक्षण र संरक्षण नेपालको राष्ट्रिय प्राथमिकता रहेको बताउँदै उनले सन् २०१५ को महाभूकम्पका कारण ध्वस्त भएका राष्ट्रिय तथा विश्व सम्पदाको सन् २०२२ सम्ममा पुनर्निर्माण र पुनर्निर्माणका लागि नेपालले सबै प्रयास गरिरहेको जानकारी गराए । महासभामा शिक्षा सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी र युनेस्कोका लागि नेपालका सहायक महासचिव डा। बाबुराम अधिकारी सहभागी छन ।
२८ कार्तिक २०७८, आईतवार ०९:४७ प्रकाशित