पण्डित मुरारी प्रसादले नाग पञ्चमीको भरपुर उपयोग गर्ने योजना बनाए । छापाखाना गएर दुई बण्डल नाग किनेर ल्याए ।
एका बिहानै उठेर नुहाई धुवाई गरे । पूजा पाठ गरे । नागको बण्डल झोलामा राखेर जजमानीमा हिडे ।
उनले नैवेद्यभन्दा पनि लक्ष्मीलाई प्राथमिकतामा राखे । र पनि मानो मुठी र सय पचास गर्दा गर्दै दिनभर झोला भरियो । गोजी पनि भरियो ।
खुसी मुद्रामा घर फर्के । घर नजिकै आउँदा कालो सर्प देखे । सर्पले बाटो छोडेन । उनलाई रिस उठ्यो । मार्नलाई दाउरा उठाए ।
जीव विज्ञ अनिलले देख्यो र भन्यो, ‘पख्नुस, पण्डित बाजे ! यो के गरेको ?’
‘देखेनौ । गोमन सर्प मार्न लागेको । यसले डस्यो भने मान्छे मर्छ । यस्ता शत्रु जीव राख्नु हुँदैन ।’ पण्डित बाजे आफ्नो बचाउ गर्दै थिए ।
‘वाह पण्डित बाजे वाह ! नागपञ्चमीको अवसरमा यसैको चित्र बेचेर झोलाभरि नैवेद्य र गोजीभरि गाँठ राख्दा त शत्रु भएन है !’ अनिलले स्मरण गरायो ।
छविलाल खड्का
कोहलपुर
छविलाल खड्काका ‘पाँच साइनो’ !
२१ भाद्र २०७८, सोमबार १६:२० प्रकाशित