राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’
कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे अहिले नै निर्णय गर्न नसकिने उनले बताए । ‘अझै परीक्षा हुन दुई हप्ता बाँकी छ । यो हप्ता हामी परिस्थिति हेर्छौं । त्यसपछि थप छलफल गरेर निर्णय लिन्छौं,’ सदस्य सचिव अर्यालले भने, ‘विद्यार्थी अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्न चाहन्छु ।’
अहिले सञ्चालन भइरहेको परीक्षा नियमित हुने र तयारी भइरहेका बाँकी परीक्षाहरु पनि तोकिएको समयमा नै हुने उनको भनाइ छ ।
सोमबार दिउँसो पत्रकारसँगको छलफलका क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ तेस्रो लहरको संक्रमण बढ्दै गए शिक्षा मन्त्रालयसँग परामर्श गरी आन्तरिक मूल्यांकन गर्न सकिने बताएपछि परीक्षाबारे विद्यार्थीमा भ्रम पर्न गएको हो ।
१८ श्रावण २०७८, सोमबार १८:५१ प्रकाशित