हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ ।
आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ ।
यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ । यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ ।
कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ । यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ ।
आमन्त्रित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगे।
सोमवार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने ।
हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो । कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुई जना यात्रा गर्न सक्छन् ।
तर परीक्षण चरणमै रहेको ड्रोन-ट्याक्सी जस्तो यो सीधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ ।
सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाई कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो ।
मङ्गलवार एउटा कार्यक्रमका हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाई कारको सोच ुहाम्रो भविष्यको एउटा अंशु रहेको बताएका छन् ।
क्लेन भिजनले दुई वर्ष लगाएर ‘२० लाख युरोभन्दा कम खर्चमा’ एयरकार निर्माण गरेको बताएको छ ।
क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजार मात्रै पाए पनि धेरै सफल हुने बताए ।
‘अमेरिकामा मात्रै ४० हजार विमानको माग छ’ उनले भने । ‘हामीले यसको पाँच प्रतिशत मात्रै हवाई कारमा ल्याउन सक्यौँ भने हाम्रो लागि ठूलो बजार हुनेछ ।’ बीबीसीबाट
१६ असार २०७८, बुधबार १२:४७ प्रकाशित