गण्डकीको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त
  • काँचुली खबर

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

पोखरा महानगरपालिका-११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएसन पोखराका पूर्वअध्यक्ष रहेका उनी डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका पनि पूर्वअध्यक्ष हुन् ।

यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्तामा राजेन्द्र घिमिरे थिए । गुरुङ पदमुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेको यो दोस्रो राजनीतिक नियुक्ति हो । यसअघि उनले प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा। रघुराज काफ्लेलाई नियुक्त गरेका थिए ।

  • १४ असार २०७८, सोमबार २०:१३ प्रकाशित
  • Nabintech