म ओछ्यानमै थिएँ । मेरा अन्नय मित्र खासखुस प्रसादले एका विहानै मोबाइलको घण्टी बजाए । मैले फोन रिसिभ गरें, ‘हेलो ! के छ, वरिष्ठ ज्यू ?
‘हेलो ! गजाधर जी । सञ्चै हुनुहुन्छ ? फोनसोन नि गर्नुहुन्न । आजभोलि के पढ्दै र के लेख्दै हुनुहुन्छ ?’ उनले प्रश्नको अोइरो लाए ।
‘कथा र लघुकथा पढिरहेकोछु । हल्का हल्का लघुकथा लेखिरहेकोछु ।’ मैले छोटो उत्तर दिएँ ।
‘ए कथा पढ्दै हुनुहुन्छ । चर्चित कथा ‘लारा’ पढ्नु भयो ?’ उनले रोमान्टिक मुडमा सोधे ।
मैले भने, ‘छैन । कस्तो कथा हो ?’
‘हत्तेरी यस्तो चर्चित र पुरुस्कृत कथा नि नपढेको ! ल-ल म म्यासेन्जरमा पठाई दिन्छु । पढेर प्रतिक्रिया दिनुस् ।’
‘हस् ।’
………………………………………….
तुरुन्ता तुरुन्ती म्यासेज आएको संकेत आयो । म्यासेन्जर खोलें । उक्त कथा आयो । प्राकृतिक आँखाले पढ्न नसक्ने भए पछि कृत्रिम आँखाको सहारा लिएँ । तर पनि पढ्नै सकेन । देब्रेतिर अलिअलि देखिन्छ । दायाँतिर त पटक्कै देखिएन । यता मनभित्र भने एक प्रकारको हुटहुटी बढ्यो । कथा कस्तो होला भनेर ताउ-तेले हुण्डरी मच्चायो ।
‘नानी प्रियंका, यहाँ आऊ त ।’ नातिनीलाई बोलाएँ ।
‘किन ? हजुर बुवा ।’ ऊ आई ।
‘मेरो चश्माको पावर फेर्नु पर्ने भएछ । तेरो बुवालाई भनेर फेरेर ल्याई दे । केही पढ्नै सकिन ।’ म भन्दै थिएँ ।
प्रियंका त खित्का छाडि छाडि हाँस्दै भनी, ‘हजुर बुवा, चश्माको सिसै छैन । कसरी देख्छ त ?’
चश्मा खोलेर हेरेको त नभन्दै दायाँपट्टिको सिसा रहेनछ । हिजो साँझ सोलमारीको टुच्चको कमाल सम्झेर नातिनीका अगाडि सर्मिन्दा भएँ ।
छविलाल खड्का
कोहलपुर
छविलाल खड्काका ‘पाँच साइनो’ !
२६ जेष्ठ २०७८, बुधबार १९:३७ प्रकाशित