बाँकेमा जेठ १७ गतेसम्म लम्बियो निषेधाज्ञा
  • काँचुली खबर

जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते मध्यराती १२ बजे सम्मकालागि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालमै पहिलो पटक बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषाधाज्ञा अहिले बाँके जिल्ला भरी जारी रहेको छ । महामारीको प्रकोप अझै नघटेको ठहर गर्दै जिल्ला सुरक्षा समितिले थप ७ दिनलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यस अघि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द (डीसीसीएमसी) को नामबाट बैठक र निर्णयहरु हुने गरेपनि कोरोना माहामारी नियन्त्रण सम्बन्धी अध्यादेश आएसँगै डीसीसीएमसी खारेज भएपछि आज जिल्ला सुरक्षा समितिको बैठकमा निषेधाज्ञाका बिषयमा छलफल भएको थियो ।

समितिले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन जिल्लाका सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना बनाएर लागु गर्ने समेत निर्णय गरेको छ । यस अघि जारी निषेधाज्ञा फितलो भएको गुनासो आएको र गृह मन्त्रालयले समेत देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन गरे अनुसार अब थप हुने निषेधाज्ञाको कार्यान्वयन कडा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

बाँकेमा निषेधाज्ञा जारी भएको १ महिना पछि पहिलो पटक आईतबार मृत्युदर शुन्यमा पुगेको थियो ।

  • १० जेष्ठ २०७८, सोमबार ०८:५५ प्रकाशित
  • Nabintech