१८ बैशाख २०८१, मंगलवार
२२ तले पुनर्निर्मित धरहराको आज उदघाटन गरिँदै
  • काँचुली खबर

२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् ।
उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
२०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।
धरहरा उदघाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन । धरहरा पूर्णरुपमा तयार भइसकेको छैन । पुनर्निर्मित धरहरामासुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो । २२ औं तलामा शिवलिंग छ ।
दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर राजुमान मानन्धरले बताए ।
वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

  • ११ बैशाख २०७८, शनिबार ०७:०३ प्रकाशित
  • Nabintech