नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र उनको विचारको भण्डाफोर गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कार्यकर्ता भेलाको अन्तिम दिन नेता नेपालले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले सोही अनुसार सचेत हुन पनि आग्रह गरेका छन् । ‘लडाउने भिडाउने काम हुनसक्छ तपाईहरु सबै हिसाबले तयार रहनुहोला’, नेता नेपालको भनाइ छ ।
उनले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझैपनि कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध रहेको भन्दै ती नेताहरू आज पनि एकताकै पक्षमा रहेको बताए ।
‘केपी ओलीको गलत प्रवृत्तिविरुद्ध पुराना नेताहरुले समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेश गरेको दस्तावेजका आधारमा अघि बढिने बताए । उनले केपी ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि केही सांसदहरुलाई खबर गर्न नपाउँदा उनीहरु गएको चित्त दुखेको हुनसक्ने बताए । ‘तपाईहरु दुःख नमान्नुहोला । चियापान कार्यक्रममा पुग्नुभएछ खबर नहुँदा । गएका साथीहरूलाई बालुवाटारमा अपमान भएछ । ओलीजीको गुटको मानसिकता एकदम गलत छ । वैचारिक विचलन संगठनका ध्वस्त गर्ने आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ । अब हामीले वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ’ नेता नेपालको भनाइ छ ।
उनले एमालेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा आफ्नो पक्ष नै बहुमतमा रहेको भन्दै केन्द्रीय कमिटीमा समेत बहुमत पुग्ने दावी गरे । नेपालले ओलीसँग कमिटीको सामना गर्ने आँट नरहेकाले उनी वैधानिक रूपमा अगाडि बढ्न नचाहेको बताए । ‘हामी चुनौती दिन चाहन्छौ बैठक बोलाउन त्यहाँ सामना गरौंला’, नेपालले ओलीलाई चुनौती दिए ।
उनले ओलीसँग नडराउने, नतर्सिने नझुक्ने पनि बताए । ‘हामी कमजोर छैनौं । कस्ता कस्तासँग डराइएन । यस्ता मानिससँग हामी डराउँदैनौ’ नेपालको दावी छ । आफुहरुले ओलीलाई नवौं महाधिवेशनको दस्तावेजमा आउनुस् भनेको भन्दै त्यसमा ओलीले छलफल नै गर्न नचाहेको बताए । ‘ओलीलाई आफुहरुले नै जिताएको तर राम्रो काम गरेनन् । ओलीको विचार र प्रवृत्ति विरुद्ध भण्डाफोर गर्नुस् देशैभर । जबजको मूल्य मान्यताअनुसार भण्डाफोर गर्ने हो’ निर्देशन दिँदै नेपालले भने ।
उनले कार्यकर्ताहरूलाई जनताको पीडा र समस्यामा साथ दिएर अगाडि बढ्न पनि निर्देशन दिए । ‘२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्था ओलीले के-के गरे तिनको समीक्षा गरेर अगाडि बढ्ने हो । एकता गर्दा मनपरी मानिस नियुक्त गरे । प्रधानमन्त्री भएको दिनदेखि राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गरे । एकल रूपमा शासन गर्ने काम भयो’ उनले ओलीलाई सम्झाउन र सुधार्न धेरै प्रयास गरेपनि असफल भएको बताए ।
५ चैत्र २०७७, बिहीबार १८:३९ प्रकाशित