भारतको तेलंगनामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको छ । प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन थालेको भाले भागेपछि मालिकले दौडेर समाउन खोजेका थिए । त्यही क्रममा भालेको खुट्टामा रहेको चक्कु उनको पेट र तीघ्राबीचको भागमा लागेको थियो ।
अस्पतालमा पुग्नुअघि अत्याधिक रक्तश्राव भएकाले मालिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केही दिनअघि तेलंगनाको लोथुनुर गाउँमा १६ जना मिलेर भाले जुधाइ प्रतियोगिता आयोजना गरेका थिए । भारतमा यस्ता प्रतियोगिता प्रतिबन्धित भए पनि गैरकानुनी रूप आयोजना भइरहन्छन् ।
मालिकको मृत्यु भएपछि उक्त भालेलाई केहीबेर प्रहरी चौकीमा राखिएको थियो र पछि एउटा पोल्टी फार्ममा पठाइयो ।
भाले जुधाइ आयोजना गर्ने अन्य १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
१६ फाल्गुन २०७७, आईतवार ०८:३२ प्रकाशित