साउदी अरबको उखरमाउलो गर्मीमा ऊँट चराउने काममा थिए, अक्बुल र सतिश । दुवै रुम पाटनरको रुपमा सङ्गै मिलेर बसेका थिए । नेपालको फरक फरक परिवेशमा हुर्केका भए पनि विरानो भूमिमा कुनै भेदभाव बेगर सहोदर दाजुभाइको जस्तै व्यवहार देखिन्थ्यो । कामबाट फर्के पछि आलोपालो किचेनको काम गर्थे र खाइबरी फोनको ड्युटीमा खटिन्थे ।
सतिश बुढीसँग घण्टौ गफिन्थ्यो भने अक्बुल दैनिक रुपमा छोटो समयमै गफ सिध्याउँथ्यो । सतिशकी बुढीको आईफोन चलाउने चाहना पनि पूरा गरिदियो । अक्बुलले भने सामान्य स्क्रीनटच मोबाइल पठाई दियो । अब दुवैलाई भिडियो कलमा गफ गर्ने अवसर मिल्यो ।
सतिश झुलभित्र छिरेर बुढीसँग भिडियो कलमा रमाइला रमाइला गफ घण्टौ लगाएर गर्थ्यो तर अक्बुल करिब आधा घण्टामा सबै कुरा टुङ्ग्याउँथ्यो ।
‘ए पर्वते, ल छिटो खाना खा ! भाउजुसङ्ग भिडियो कल गर्न ढिला हुन्छ ।’ अक्बुलले जिस्क्याउँथ्यो ।
‘ए वे धोती ! तिमीहरु जस्तो श्रीमतीलाई बाकसभित्र लुकाएर राख्ने हो र हामी । आफू त मेकअप गराएर सबैले देख्ने गरि अङ्गालो मारेर हिडिन्छ । पञ्चले देखेको पो धन ।’ सतिशले व्यङ्ग्य ठोक्यो ।
अक्बुलको जिस्क्याईले हो वा श्रीमतीको अनइच्छाले हो क्रमशस् सतिशको भिडियो कल समय घटिरहेको थियो । अक्बुलको भने उहीँ समय थियो । एवम् रितले दिन-रात, महिना, वर्ष गर्दा गर्दै साउदी बसाइ सकिन थालेछ ।
घर फर्कनलाई तयारी शुरु भयो । सपिङ्ग सपिङ्ग गरे । सत्ताइस तारीखको प्लेनको टिकट लिए । साँझ आ-आफ्ना बुढीसङ्ग दुवैले गफ गरे । छिट्टै भेट्ने मीठो बाचा सङ्गै निन्द्रादेवीको शरण परे ।
चिलगाडीको आकासे यात्रा सकेर काठमाण्डौ अोर्लिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बुर्काभित्र सजिएर अक्बुलको स्वागतमा श्रीमती आतुर थिइन भने सतिशकी श्रीमतीको मोबाइल स्वीच अफ थियो ।
‘किट्याङ्ग ! किट्याङ्ग !!’ मोबाइलमा म्यासेज टोन आयो । सतिशले हतार हतारमा म्यासेज इन्बक्स खोल्यो । बाबुको म्यासेज यस्तो थियो, ‘छोरा ! तेरो आइफोन उपहारले श्रीमती खायो र पैसा पनि खायो । नानी हामीसङ्ग छे । ऊ ड्राइवरसङ्ग पोइला गई रे ! जन्म दिने बाउ-आमालाई विश्वास गरिनस् । जस्तो थिइस् उस्तै भइस् !’
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
२७ माघ २०७७, मंगलवार १६:०७ प्रकाशित