चीनको शिक्षा मन्त्रालयको तर्फबाट जारी भएको एक सूचनालाई लिएर चिनियाँहरु खुसी देखिएका छैनन् । उक्त सूचनामा चिनियाँ युवाहरु ‘आइमाई जस्तै बन्दै गएको’ टिप्पणी गरिएको छ ।
केही अनलाइन प्रयोगकर्ताहरुले उक्त सूचनालाई यौनभेदी टिप्पणी भन्दै आलोचना गरेका छन् । कतिपयको आरोप यो छ कि यस्तो धारणाका लागि चीनका पुरुष सेलिब्रेटीहरु आंशिक रुपमा जिम्मेवार छन् ।
चीन सरकारले यस्तो विषयमा चिन्ता व्यक्त गर्दै भनेको छ कि देशका लोकप्रिय पुरुष मोडलहरु सेनाका नायकजस्तै मजबुत तथा हृष्टपुष्ट छैनन् ।
यहाँसम्म कि राष्ट्रपति शी जिनपिङ, जो आफैमा फुटबल खेलाडि पनि हुन्, उनी समेत देशमा राम्रा खेलाडि उत्पादन होउन् भन्ने चाहन्छन् ।
त्यसैले अघिल्लो हप्ता शिक्षा मन्त्रालयले एक सूचना जारी गर्यो जसमा सरकारको उद्धेश्य प्रष्टरुपमा व्यक्त गरिएको छ ।
किशोरावस्थाका केटाहरुमा ‘केटीजस्तै’ हुने प्रवृत्ति रोक्नका लागि उक्त सूचनामा शारीरिक शिक्षामा सुधार गर्ने कुरा गरिएको छ । त्यसलाई ध्यानमा राख्दै शिक्षकहरुको बहालीलाई समेत दुरुस्त गर्ने विषयमा जोड दिइएको छ ।
सरकारी सूचनामा सन्यास लिइसकेका खेलाडी तथा खेलकूदको पृष्ठभूमिमा रहेका मानिसहरुलाई शिक्षकको रुपमा भर्ना गर्नुपर्ने सल्लाह समेत दिइएको छ । छात्रहरुमा मर्दपना जागृत गराउनका लागि फुटबल जस्ता खेलमा विशेष ध्यान दिनुपर्ने बताइएको छ ।
चीनमा मिडियाहरुलाई सामाजिक रुपले जिम्मेवार र नितान्त स्वच्छ छवि भएका स्टारहरुको मात्र समाचार पस्किने इजाजत हुने अवस्थामा सरकारको यस्तो फैसला यस दिशमा अहम कदम मानिएको छ ।
चिनियाँ पुरुषमा महिलाको जस्तो रुझान
अघिल्लो वर्षको मे महिनामा चीनको शीर्ष सल्लाहाकार समितिका प्रतिनिधि सी जेफूले भनेका थिए कि चिनियाँ युवाहरु कमजोर, डरपोक र हीन भावनाले ग्रसित हुँदै गएका छन् । चिनियाँ पुरुषहरुमा महिलाको जस्तो रुझान बढिरहेको उनको दाबी थियो । यदि यस समस्याको उपयुक्त तरिकाबाट समाधान गर्न सकिएन भने त्यसले अन्ततः मुलुकको विकास तथा अस्तित्वलाई नै खतरामा पार्न सक्दछ ।
यसका लागि आंशिक रुपमा घरको माहौललाई समेत जिम्मेवार मानिएको छ किनकी घरमा बच्चाहरुको लालनपालन आमा तथा हजुरआमाहरुले नै गर्ने गर्दछन् ।
उनका अनुसार पुरुष सेलिब्रेटीहरुको बढ्दो क्रेज समेत यसका लागि जिम्मेवार छ । सोही कारणले कैयन् बच्चाहरु अब सेनाको नायक जस्तै बन्न चाहँदैनन् । उनले स्कुलमा छात्रहरुलाई सन्तुलित शिक्षा दिनमा स्कुलहरुले अहम् भूमिका खेल्नुपर्ने उनको भनाई छ ।
बीबीसीको सहयोगमा
२४ माघ २०७७, शनिबार १३:२७ प्रकाशित