आज सहिद दिवस । सहिद दिवसको अवसर पारेर देसभरि विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना भैरहेका छन् । यस पटक सञ्चालित कार्यक्रमहरु हेर्दा त्रिकोणात्मक रुपले सञ्चालन भएको पाइयो । सरकारी पक्ष र विपक्षहरुले फरक फरक ठाउँमा कार्यक्रम आयोजना गरे । सहिदका सालिकमा माल्यार्पण गरे । भाषण गरे । उच्च प्रशंसा गरे र अनौठो दृश्य त के देखियो भने आफ्नो पक्षमा नभएका भन्ने सहिदका नामप्रति व्यंग्यवाण हान्न पछि परेनन् । उनीहरुको बद्ख्वाईं गरे । उनीहरु र उनीहरुको समूहलाई दुत्कारे । सरापे । यी खास सहिद होइनन् हामीले मान्दको हो भन्न समेत भ्याए । लाग्थ्यो सहिद पनि पार्टी र गुट विशेषका हुँदा रहेछन् ।
सहिद दिवस मनाउने फरक पक्ष पनि देखियो । जो राजनीतिक झण्डाबाट टाढै रहेका प्रबुद्ध समुहको रुपमा आफू चिनिन चाहने वर्ग थियो । उसले आयोजना गरेको कार्यक्रममा सहिदहरुको समग्र सम्मान सहित समीक्षात्मक खाले देखियो । सहिद र सहिदको मूल्यप्रति उनीहरुको विश्लेषण यस्तो थियो, राणाहरुले आफ्नो विरुद्ध नागरिक चेतना फैलाए बापत चार जनालाई फाँसी दिए । उनीहरुको प्राण आहुतिको उच्च सम्मान स्वरुप सहिद घोषणा गरियो । पछि पनि विभिन्न समय कालखण्डमा विभिन्न सहिदहरुले निस्वार्थ रुपमा देश र जनताका लागि प्राण अर्पे । सबै जनजनका मन मुटुमा अमिट रुपले सम्मानित भै बसे ।
पछिल्लो समयमा विकृतिको पहाड बन्न थाल्यो । सहिदको व्यापार हुन थाल्यो । आफ्ना निहित स्वार्थ पूरा गराउन आन्दोलनको सहारा लिने र झडपमा मृत्यु भएमा सहिद घोषणा र क्षतिपूर्ति दिलाउने र दिने ट्रेन्ड बस्यो, क्षतिपूर्ति स्वरुप दस लाख दिने । आन्दोलनकारीलाई सहज भयो, भीड जम्मा गर्न । यदाकदा सुनिन्छ, मादक पदार्थ र लागू पदार्थ समेत सेवन गराएर जुलुसमा ल्याइन्छ । आन्दोलन हुन्छ, झडप हुन्छ, मान्छे मर्छ, सहिद घोषणा र दस लाख क्षतिपूर्तिमा सहमति हुन्छ । क्षतिपूर्ति स्वरुपको रकममा समेत घोटला हुन्छ ।
यावत प्रकारका क्रियाकलापहरुले गर्दा सच्चा सहिदको मूल्य र मान्यतामा समेत ह्रास आएको निष्कर्ष निकाल्दै सभा समापन भयो ।
२०७७ माघ १६ गते ।
लघुकथा : ‘संस्कार’ !
छविलाल खड्का
कोहलपुर
१६ माघ २०७७, शुक्रबार ११:१६ प्रकाशित