कोहलपुर नगर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरुको खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ ।
कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाँघेका पेय पदार्थहरुको विक्री हुने गरेको पाइएको हो । वडा नं. १४, १५, ९, ८ र १० अन्र्तगतका हवल्दारपुर, पीपरी र हाइस्कूल क्षेत्रबाट विक्रीका लागि राखिएका करिब म्याद नाघेका करिब ३ सय लिटरजति विभिन्न कम्पनीले उत्पादन गरेका पेय पदार्थहरु समितिले नष्ट गरेको छ । कोक, फ्यान्टा, डिउँ तथा भारतीय उत्पादनहरुका पेय पदार्थहरु बजार अनुगमनको क्रममा म्याँद नाँघेको पाइएपछि संयुक्त अनुगमन समितिले मुचुल्का तयार पारेर नष्ट गरेको अनुगमन समिति संयोजक तथा कोहलपुर नगरपालिका शाखा अधिकृत कर्ण बहादुर थापाले बताए ।
अनुगमनका क्रममा हवल्दारपुर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरु तथा पीपरीमा पेय पदार्थसँगै खाने तेल तथा खाद्य वस्तुहरु समेत म्याँद नाघेकै अवस्थामा विक्री वितरण हुँदै आइरहेको पाइएको छ । कोहलपुर नगरपालिका, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय बाँके, इलाका प्रशासन कार्यालय कोहलपुर, नगर कृषि सेवा कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रतिनिधी एवं पत्रकार सहितको टोलीले अनुगमन गरेको थियो ।
चाडपर्वहरुमा विशेष गरी खाद्य तथा दैनिक उपभोग्य सामाग्रीको कालोबजारी, अखाद्य वस्तु तथा म्याँद नाघेका वस्तुहरुको बढि विक्री हुने भएपछि नगरपालिकाले दैनिक उपभोग्य तथा खाद्य वस्तु तथा तरकारीको अनुगमन गर्न समितिलाई निर्देशन दिएको उपभोक्ता हित संरक्षण समिति संयोजक तथा कोहलपुर नगरपालिका उप-प्रमुख सञ्जु कुमारी थारुले बताइन् । समितिले बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । आज (सोमबार) पनि नगर क्षेत्रमा रहेका किराना तथा दैनिक उपभोग्य वस्तुको विक्री वितरण हुने पसलहरुको अनुगमन गर्ने जनाएको छ ।
यस अघि समितिले नगर क्षेत्रका सबै मासु पसलहरुको अनुगमन गरेको थियो । न्यूनतम मापदण्ड समेत पुरा नगरेर खुल्ला रुपमा मासुको विक्री वितरण अनुगमन पछि नियन्त्रणमा आएको छ । पहिलो र दोस्रो मासु पसलको अनुगमनमा ९० प्रतिशत बढि मासु व्यवसयाीहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकोमा निरन्तरको अनुगमन र मापदण्ड पुरा गर्न कडाईका साथ निर्देशन दिएपछि हाल ८० प्रतिशत मासु व्यवसायीहरुले मापदण्डको दायरामा आएको समितिले जनाएको छ ।
२८ आश्विन २०७५, आईतवार २१:४३ प्रकाशित