नेपालगञ्जमा बुधबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यस पाली पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चनको अन्तिम तयारी गरिएको छ ।
नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन कुनै कसर बाँकी नराखीएको रामलीला सञ्चालक समितिले जनाएको छ । नेपालगञ्ज-१३ बाँके बगियामा भोली साँझ ८ वजेदेखि रामलीला प्रारम्भ हुनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले रामलीलाको शुभारम्भ गर्ने सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोष कुमार कानोडियाले जानकारी दिए ।
कार्तिक ३ गतेसम्म सञ्चालन हुने रामलीलाको पुर्व सन्धयामा बुधबार दिउँसो रामलीला मैदानबाट शोभा यात्रा निकालीने छ । सञ्चालक समितिका कार्यबाहक अध्यक्ष कानोडियाका अनुसार शोभायात्रा रानीतलाउ त्रिभुवन चौक, सेतु विक चौक, धम्वोझी, विपीचौक, त्रिभुवन चौक, भेरी अष्पताल हुँदै पुनःरामलीला स्थानमा पुग्नेछ ।
रामलीला क्षेत्रमा सरसफाई, मैदान सम्याउने, साउण्ड सिष्टम, टेण्ट जडान लगायतका कार्य भइसकेको सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद बैश्यले बताए । रामलीला सञ्चालनका लागि करिव १२ लाख लाग्ने अनुमान गरिएको छ ।
२३ आश्विन २०७५, मंगलवार २१:४० प्रकाशित