नेपालका ‘फुच्चे पहलमान’ भारतमा छाउँदै

जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले देवको समर्थनमा हुटिङ गरिरहेको पाउनुहुनेछ ।

थापाले केही दिनअघि खेलेको एउटा कुस्तीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सानो कदका देव थापा बडेमानका भारतीय पहलमानसँग साहसिक एवं चतुरतापूर्वक भिडिरहेका देखिन्छन् ।

यी भिडियो हेरेपछि पहिले त धेरैको मनमा सवाल उठ्छ कि यो वास्तविक भिडन्त हो कि नियोजित रु डब्लुडब्लुई रेस्लिङ जस्तो ‘नाटक’ त होइन ?

यस विषयमा हामीले बुझ्न चाह्यौं, नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणासँग । उनले रेस्लिङजस्तो कुस्ती नाटकीय नहुने बताए । देव थापाले भारतका विभिन्न स्थानमा हुने ‘दंगल’ (कुस्ती प्रतियोगिता) मा भाग लिएर चर्चा कमाइरहेको उनले सुनाए  ।

‘त्यो वास्तविक भिडन्त नै हो, देवले आफ्नो टेक्निकको बलले विशाल ज्यानका पहलमानलाई आच्छु–आच्छु पार्न सक्छन्,’ श्रेष्ठले भने ।

भाइरल भिडियोमा देखिएको भिडन्त राजस्थानको एउटा गाउँमा भएको हो, जहाँ देवले स्थानीय कुस्तीवाज ज्वाला सिंहसँग भिडेका छन् । आफूभन्दा दोब्बर साइज र उमेरका देखिने ज्वाला सिंहलाई छरिता देवले हराबरा खेलाएको देखिन्छ ।

प्रतिस्पर्धा सुरु गर्ने क्रममा सञ्चालकले देवलाई ‘नेपालका सबैभन्दा ठूला पहलमान’ संज्ञा दिन्छन् ।

‘इस से बडा नेपालमे कोही पहलमान नहिँ है,’ उनी भन्छन् ।

हेर्नुहोस् भिडियो

वरिपरि भारतीय झण्डा टाँगेर आयोजना गरिएको भिडन्तमा उपस्थित दर्शकले देवको पक्षमा चर्को हुटिङ गर्छन् । आफ्नो देशका पहलमानलाई नेपाली ठिटोले हराएको हेर्न चाहन्छन् उनीहरु । रेफ्रीले पनि देवलाई फेबर गरेको जस्तो देखिन्छ । एकपटक ज्वाला सिंहले निकैबेरसम्म च्याप्दा पनि अम्पायरले उनलाई विजयी घोषित गर्दैनन् ।

यसबारे राणा भन्छन्, ‘विपक्षीले धेरै बेरसम्म च्याप्दा पनि उसलाई विजयी घोषित नगर्नुमा अम्पायरको त्रुटी हुन सक्छ, तर यसको अर्थ भिडन्त नै नक्कली हो भन्ने चाहिँ होइन ।’

११ हजार भारु पुरस्कार राशीको यो भिडन्त अनिर्णित टुंगिएको छ, किनकि ज्वालासिंह अन्त्यमा खेल छोडेर बाहिर भाग्छन् । तर, देवलाई विजेता घोषित भने गरिँदैन । अर्को दिन फेरि भिडन्त हुने भन्दै खेल स्थगित भएको घोषणा सञ्चालकले गर्छन् ।

२५ दिनमा ५४ लाख भ्युज पाइसकेको यो भिडियोमाथि कमेन्ट पोष्ट गर्न नमिल्ने बनाइएको छ । तर, देव थापाले भारतीय पहलमानहरुसँग भिडेका अरु पनि भिडियो यूट्यूबमा छ्याप्छ्याप्ती भेटिन्छन् । ती भिडियोमा भारतीयहरुले गरेको कमेन्ट हेर्दा थाहा हुन्छ कि देवले भारतमा कसरी लोकप्रियता बटुलिरहेका छन् । भारतीयहरुले उनको कला र साहसको खुलेर प्रशंसा गरेका छन् ।

‘म भारतीय हुँ, तर सँधै थापा पहलमानले जितेको हेर्न चाहन्छु,’ मनिष अग्रवालले लेखेका छन्, ‘उनको खेल कौशल वास्तवमै हेर्न लायक छ ।’

भारतमा ‘थापा पहलमान’ नामले चर्चित देव थापा नवलपरासी जिल्लाका हुन् । करिब २० वर्ष मात्र उमेर भएका उनको उचाई ५ फिट २ इन्च छ । तौल ठ्याक्कै थाहा हुन नसके पनि ५५ देखि ६० किलोका देखिन्छन् ।

भीमकाय शरीरका पहलमानहरुलाई कलात्मक तरिकाले पछार्नु उनको मुख्य विशेषता हो ।

नेपालमा उनले केही साना प्रतियोगिताहरुमा खेले पनि राष्ट्रियस्तरको कुस्ति प्रतियोगितामा भाग नलिएको कुस्ति संघका अध्यक्ष राणाले बताए । ‘देव नेपालमा भन्दा पहिलेदेखि भारतमै व्यस्त छन्,’ उनले भने ।

‘दंगल’ भनेको मनोरञ्जनका लागि आयोजना गरिने प्रतियोगिता हो । यो प्रायः भारतका साना शहर र गाउँहरुमा गरिन्छ । यसमा विजेतालाई सानोतिनो नगद पुरस्कारको व्यवस्था हुन्छ ।

तर, खेल निकै कठिन र यातनापूर्ण हुन्छ । सामान्यतया कुस्ती एउटै उमेर समूहका पहलमानबीच खेलाइने भएता पनि ‘दंगल’ मा जुनसुकै उमेरका खेलाडीलाई पनि भिडाउने गरिन्छ ।

रेस्लिङ र कुस्तीको फरक

अन्तर्राष्ट्रिय स्तरमा चर्चित खेल रेस्लिङको ‘भारतीय संस्करण’ का रुपमा कुस्तीलाई लिइन्छ । यद्यपि, कुस्ती आफैंमा मौलिक खेल भएको र रेस्लिङभन्दा धेरै पुरानो भएको कतिपय जानकारले बताउने गर्छन् ।

कुस्ती खेलको उत्पत्ती प्राचिनकालमा मुगल शासनमा खेलिने मल्लयुद्धबाट भएको मानिन्छ । यो भारतमा अत्यधिक लोकप्रिय छ । ओलम्पिक, एसियाड र सार्क खेलकुदमा पनि कुस्तीलाई समेटिएको छ ।

रेस्लिङ र कुस्तीका धेरै नियमहरु मिल्ने भए पनि केही नियमहरु फरक छन् । डब्लुडब्लुई रेस्लिङ स्क्रिप्टेड (नाटकीय) हुन्छ । कुस्ति भने वास्तविक भिडन्त नै हो ।

अर्को भिडियो हेर्नुहोस्

कुस्तिमा भिडन्तको अवधि पहिल्यै तोकिएको हुन्छ । यो प्राय २०–२५ मिनेटको हुन्छ । दुवै खेलाडीको सहमतिमा १०–१५ मिनेट थप्न पनि सकिन्छ ।

कुस्ती प्रायः माटो थुपारेर बनाइएको ‘अखडा’ मा खेलाइन्छ । माटोमा रहेका ढुंगा वा सिसाका टुक्राहरु हटाएर चारकुने वा गोलाकार अखडा बनाइएको हुन्छ । यसको लम्बाई कम्तिमा १४ फिट हुनुपर्छ । यो जमीनको सतहभन्दा केही अग्लो हुन्छ ।

खेलको सुरुवातमा पहलमानहरुले आफ्नो शरीरमा माटो छर्ने गर्छन् । खेलका क्रममा पहलमानहरु अखडाबाट बाहिर निस्किन सक्छन्, यसमा कुनै पेनाल्टी दिइँदैन । बारम्बार निस्किए भने चाहिँ अम्पायरले सचेत गराउँछन् ।

कुस्तीमा विपक्षी पहलमानको काँध र हिपलाई एकैचोटि जमिनमा दवाएमा जित हासिल हुन्छ । तथापि, जित्ने अरु तरिकाहरु पनि छन् । रिङभित्र एकजना रेफ्रीले खेल भिडन्तको सुक्ष्म अवलोकन गर्छन् भने बाहिर दुई निर्णायकहरुको प्यानलले विजेता छनोट गर्छ ।

यसमा मुक्का हान्न, किक हान्न, टोक्न, चिथोर्न पाइँदैन । साथै, घाँटी न्याक्न, गोप्य अंग समात्न, कपाल लुछ्न पनि पाइँदैन । पहलमानले घुँडामा सामान्य प्याड लगाउने बाहेक अरु केही बोक्नरलगाउन पाउँदैनन् ।

कुस्ती जित्न मुढे बल मात्रै पर्याप्त हुँदैन । यसका टेक्निकहरु हुन्छन् जसको लागि तालिम लिनुपर्ने हुन्छ । यही टेक्निक लगाएर सानो ज्यानका पहलमानले ठूलो ज्यान भएकालाई पराजित गर्न सक्छन् । कुस्तीका कलाहरुलाई ‘दाउ’ भनिन्छ ।

नेपालमा कुस्ती

नेपालले कुस्ती खेलले खासै महत्व पाउन सकेको छैन । भारतसित सीमा जोडिएका तराईका क्षेत्रहरुमा भने यो खेल केही लोकप्रिय छ ।

तराईका सप्तरी, नवलपरासी, रुपन्देहीलगायत केही जिल्लामा दशैं, छट र बिभिन्न मेलाका अवसरमा भारतमा जस्तै ‘दंगल’ आयोजना गर्ने प्रचलन छ । यसमा भारतीय खलिफा अर्थात् पहलमानहरु पनि भिड्न आउँछन् । प्रायः उपाधि पनि उनीहरुले नै लैजान्छन् ।

नयाँ पुस्ताका नेपालीहरुमा कुस्तीप्रति खासै आकर्षण देखिँदैन । यद्यपि, नेपाल कुस्ती संघले यस खेलको संरक्षण र प्रवर्द्धनको प्रयास गरिरहेको छ । २०३८ सालदेखि यसले राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वैशाखमा संघले पहिलोपटक महिला कुस्ती प्रतियोगिता आयोजना गरेको थियो ।

ओलम्पिक, एसियन तथा सार्क खेलकुदमा नेपाली पहलमानहरुले भाग लिने गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा ठूलो सफलता भने नेपाललाई मिलेको छैन ।

अरु खेलाडीले जस्तै कुस्ती खेलाडीहरुले पनि आफूहरु राज्यबाट उपेक्षित भएको गुनासो गर्छन् । कुस्तीका लागि अखडा अभाव भएको, खेलाडीलाई खानपान लगायत केही सुविधा नभएको, खेलको संरक्षणमा राज्य उदासिन रहेको उनीहरुको गुनासो छ ।

‘अभ्यासमा सरकारले हामीले खाने खुराकसमेत पाउँदैनौं, अरु सुविधा त परको कुरा हो,’ एक खेलाडी भन्छन् ।

भारतीय मिडियामा चर्चा

नेपालका सञ्चारमाध्यम देव थापाबारे बेखबर भए पनि भारतीय मिडियाले भने फाट्टफुट्ट उनको चर्चा गरेका छन् । उनलाई नेपालका चतुर पहलमानको संज्ञा दिँदै मिडियाले प्रशंसा गरेका छन् ।

#साभार:  अनलाईन खबरबाट