के हुन्छ, संगै सुत्ने श्रीमतीले………
  • काँचुली खबर

के हुन्छ…..
संगै सुत्ने श्रीमतीले
‘म तपाइँ बाट असुरक्षित छु’ भनिन् भने ?

के हुन्छ……
निधारमा टिका टाँसिदिंदा टाँसिदिंदै बैनीले
दाजुको अनुहारमा कंश देखिन्

अत्तालिएर गुहार मागिन् भने ?

के हुन्छ……
रातो गुलाबको फूल भित्र प्रेमिकाले
वीर्यको गन्ध पाइन् भने ?

के हुन्छ……….
दूध चुसाइरहेकी आमाले
नाबालिकाको घाँटीमा हात पुर्याउँदै
भनिन् भने,
‘आखिर
टोकिएर, ठोक्किएर
लुछिएर, कुल्चिएर
च्यातिएर, च्याँपिएर
मक्किएर, भत्किएर
शोषित भएर, बलात्कृत भएर……,
एक दिन तँलाई
तड्पी तड्पी मर्नु नै छ भने छोरी,
म किन नदबाऊँ तेरो गला अहिले नै प्रेमपूर्वक’ ?

के हुन्छ………..
आमाहरूको गला
आमाकै हातबाट दब्न थाल्यो भने ?

प्रिय पुरुष मित्र,
तिम्रो अंगको उत्तेजना थोरै घटाइदेऊ न है !
जगतमा थोरै विस्वास बढाइदेऊ न है !

 

  • ८ आश्विन २०७५, सोमबार १४:४१ प्रकाशित
  • Nabintech