५ जेष्ठ २०८१, शनिबार
परिचय-पत्रकै भरमा निःशुल्क स्वास्थ्य जाँच
  • काँचुली खबर

सिकलसेल एनिमिया रोगबाट पीडित राम कुमार थारुको भेरी अञ्चल अस्पताल नेपालगंजबाट उपचार चलिरहेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ का थारुले उपचार गर्न आउँदा बाटो खर्च बाहेक खासै रकम नबोक्ने गरेको सुनाए ।

उनले भने, “परिचय पत्र (कार्ड) छ, निशुल्क सेवा लिईरहेको छु ।” उनी मात्र नभई बारबर्दिया नगरपालिकाका प्रेमी थारु र माघि थारुले पनि यसैगरी निशुल्क स्वास्थ्य सेवा लिईरहेका छन ।

थारु त एउटा प्रतिनिधि पात्र मात्र हुन । पछिल्ला दिनहरुमा बर्दिया जिल्लाका सबै नागरिकलाई सहज, सर्वसुर्लव र गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउनका लागी गरिएका पहलले सार्थकता पाउन थालेका छन । गरिबीको सुचिमा समावेश २२ हजार ३ सय ७१ जना सर्वसाधारण नागरिकलाई प्राथामिकता दिई सामाजिक स्वास्थ्य सुरक्षा विशेष गतिबिधिहरु पनि सञ्चालन भएको पाईन्छ ।

वि.सं. २०७० सालमा गरिबी निवारण मन्त्रालयले गरेको एउटा सर्वेक्षण अनुसार ३ थरीको गरिब भनी छुट्टाईएको छ । जसमा अति गरिब, मध्यम र सामान्य भनेर छुट्टाईएको तथ्यांक प्राप्त गरेपछि नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड गुलरिया बर्दियाले पनि पहिलो चरणको आफनो कार्यक्रममा अति गरिबलाई बढि प्राथामिकता दिएको जनाएको छ ।

उता नेपाल सरकार मातहत रहेका अन्य विभिन्न स्वास्थ्य सेवा प्रदायक निकायहरुले पनि प्रभावकारी र सर्वसाधारण मैत्री स्वास्थ्य सेवा पुर्याउन लागी परेको बताउने गरेका छन ।

स्वास्थ्य बीमा बोर्डको शुभारम्भ

बर्दियामा २०७४ साल असोज ६ गते देखी दर्ता शुरु गरि १ मंसिर २०७४ देखी स्वास्थ्य सेवा शुभारम्भ गरीएको हो । जिल्लाका ८ वटै स्थानिय तह (गुलरिया, मधुवन, ठाकुर बाबा, गेरुवा, राजापुर, बाँसगढि र बढैयाताल) नगरपालिका/गाउँपालिकामा ९० जना दर्ता सहयोगी, कर्मचारी खटाईएको छ ।

जिल्लाभरीका ७५ वटै वडामा ति दर्ता सहयोगी, कर्मचारीहरुले काम गरिरहेको स्वास्थ्य बीमा बोर्ड गुलरिया बर्दियाका निमित्त शाखा प्रमुख रमेश आचार्यले बताए । उनका अनुसार जिल्लामा बिमा गराउनेको संख्या ६० हजार बढि पुगेको छ । बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा सबैभन्दा बढि सर्वसाधारण नागरिकहरुले स्वास्थ्य बिमा गराएका छन ।

जिल्लामा पहिले स्थानिय विकास अधिकारी (एलडीओ) को नेतृत्वमा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको थियो । तर अहिले देश पुरै संघियतामा गई संघिय संरचना अनुरुप सेवा प्रवाह हुन थालेपछि जिल्लाका प्रत्येक स्थानिय तहका प्रमुख वा अध्यक्षको नेतृत्वमा स्थानिय स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको छ ।

“तपाईको स्वास्थ्य हाम्रो अठोट” भन्ने मुल नाराका साथ शुरुवात गरिएको यो कार्यक्रम अन्र्तगत जिल्ला अस्पताल गुलरिया, प्राथामिक स्वास्थ्य केन्द्र राजापुर, प्राथामिक स्वास्थ्य केन्द्र मगरागडि, प्राथामिक स्वास्थ्य केन्द्र सोरहवाले सेवा गर्ने अवसर पाएका छन ।

यसैगरी बाँके जिल्लाको सन्र्दभमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्तपाल कोहलपुर, नेपालगंज मेडिकल कलेज (नर्सिङहोम) नेपालगंज, भेरी अञ्चल अस्पाताल नेपालगंज, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगंज रेफरल स्वास्थ्य संस्थाको रुपमा सुचीकृत भएका छन । यो बाहेक अन्यत्रका अझ ठुला सुविधा सम्पन्न अस्पतालहरु पनि सुचिकृत गरिएको छ ।

सुगमका स्वास्थ्य सेवा प्रदायक संस्था

स्वास्थ्य बिमा कार्यक्रमका सुचीकृत सेवा प्रदायक संस्थाहरुले बीमित ब्यक्तिहरु उपचारका लागी पुगे उनीहरुको परिचय पत्रका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने गर्दछन ।

जिल्ला अस्पताल बर्दियाका लेखापाल जगतराम चौधरीले भने, “सेवाग्राहीको परिचय पत्र हुन्छ, त्यसलाई हामी अनलाईनको माध्यमबाट रिड अर्थत चेक गछौं, र सोही अनुसारको सेवा उपलब्ध गराउछौ, यहाँ नभएको सेवा लिन अन्यत्र रिफर हुन्छ, अहिले सम्म हामीले २ सय १२ जनालाई रिफर गरी सकेका छौं ।” स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका सर्वसाधारणहरुका अपेक्षा धेरै हुने भएकाले कतिपय अवस्थामा आफुहरुले चाहेर पनि स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको भन्दै यस विषयमा नेपाल सरकार स्वंयमले पहल गर्नुपर्ने उनले बताए ।

उनले भने, “म स्वयं अस्पतालको कर्मचारी भएकाले त सेवा लिन सहज छ तर सबै सर्वसाधारण नागरिकले स्वास्थ्य बिमा जति भनिएता पनि सेवा पाउन सकिरहेका छैन, जनशक्ति, औषधी, उपकरण लगायतका कुराहरुमा पनि कहिले फरक परिरहेको हुन्छ, हामी सँग जे जस्तो छ, त्यति नै सेवा दिने हो ।”

नेपालगंज मेडिकल कलेज (नर्सिङ होम) नेपालगंजका जयस जंग शाहले प्लास्ष्टिक सर्जरी बाहेकका धेरै सेवा उपलब्ध गराई रहेको जानकारी दिए । आफुहरुको अस्पताल रेफरल सेन्टरका रुपमा रहेकाले दैनिक जसो स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सर्वसाधारणहरु पनि सेवा लिन आउने गरेको सुनाए । भेरी अञ्चल अस्पताल नेपालगंजका कम्युटर अप्रेटर अरुण खनाल र फत्तेबाल आँखा अस्पतालका जित बहादुर थारुले स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत पुग्ने सबै बिरामीले सहजै स्वास्थ्य सेवा प्राप्त गरेको दाबी गरे ।

कागजी प्रक्रिया मिलाउन केही समय लिन्छ तर कोही खाली हात फर्किनु पर्दैन जित बहादुर थारुले भने, “थोरै धर्यता गर्नु नै पर्छ, फत्तेबाल आँखा अस्पतालको सन्र्दभमा भन्नुपर्दा दैनिक जसो कम्तीमा एक जना बिरामीको आँखा अप्रेशन हुन्छ, त्यसैगरी आँखाको जाँच, चष्मा, औषधी वितरणको काम पनि हुन्छ । स्वास्थ्य बीमाको प्याकेजमा उल्लेख भए बमोजिम भन्दा केही बढि भए स्वयं ब्यक्तिले रकम खर्च गर्नुहुन्छ ।”

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सिनीयर अफिसर श्याम धितालले पनि दैनिक ६० देखी ७० को बराबरीमा विरामी पुग्ने गरेको बताउँछन । उनले अस्पतालमा उपलब्ध भएको र स्वास्थ्य बीमाको प्याकेजमा समावेश गरिएका उपचार सेवालाई जति सक्यो चाँडो दिन प्रयास गरिरहेको प्रतिक्रिया दिए ।

उनले भने, “सेवा लिने र दिने प्रक्रिया झन्झटिलो हुनुहुदैन, सजिलो भए छिटो छरितो सेवा प्रवाह हुन्छ, तर वर्तमान सेवा लिने र दिने प्रक्रिया अलि झन्झटिलो छ, कतिपय अवस्थामा परिचय पत्र र अन्य कागजपत्रका विवरणहरु फरक पर्न जान्छन, कसैले पुरै तोकिएका कागजपत्रहरु नल्याएर आउनुहुन्छ, जसले गर्दा समयमा सेवा प्रवाह हुन सक्दैन ।” प्राय: अधिकांश स्वास्थ्य संस्थाहरुले यसको एकिन रेकर्ड भने नराखेको पाईएको छ ।

ग्रामिण बेगका स्वास्थ्य सेवा प्रदायक संस्था

राजापुर प्राथामिक स्वास्थ्य केन्द्र राजापुरमा जिल्ला अस्पताल बर्दियाको भन्दा बढि बिरामीको चाप छ । स्वास्थ्य बीमा कार्यक्रमतर्फ मात्र १५ हजारको हाराहारीमा सेवाग्राही रहेको आंकलन छ । राजापुर मात्र नभई गेरुवा र कैलालीबाट समेत बिरामी पुग्ने गरेका छन । तर दरवन्दी अनुसार पर्याप्त जनशक्ति, स्रोत साधानको अभाव छ ।

हेल्थ अस्सिटेन्ट जितेन्द्र केसीले भने, “स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि हामी कहाँ पुग्ने सेवाग्राहीलाई सक्ने जति सेवा दिएका छौ, नसकेको सन्दर्भमा भने रिफर गछौ, इन्टरनेटको समस्या, बिरामीको चापले भने केही समस्याहरु त छन, यस विषयमा स्थानिय सरकार तथा सरोकारवाला निकायले ध्यान दिनुपर्छ, सकभर राजापुर प्राथामिक स्वास्थ्य केन्द्र राजापुरलाई अपग्रेड गर्दा राम्रो हुन्छ ।”

यसैगरी सोरहवा प्राथामिक स्वास्थ्य केन्द्र सोरहवाका हेल्थ अस्सिटेन्ट किशोर श्रेष्ठले पनि सादा एक्सरे बाहेक प्राथामिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुन सक्ने खालका सबै सेवा उपलब्ध भईरहेको जानकारी गराए । उनले भने, “इन्टरनेटको भने केही समस्या छ, मोबाइल डाटाको प्रयोगले काम गरिरहेका छौं, यो समस्या चाँडै समाधान हुने आसा गरेका छौ ।”

मगरागडि प्राथामिक स्वास्थ्य केन्द्र जयनगरका डाक्टर ज्ञानेन्द्र नेपालीले आफुहरु सेवा दिन तत्पर रहेको भएपनि केही औषधी, झन्झटिलो प्रक्रियाले समस्या बनाएको बताए । इन्टरनेटले काम नगरेको बेला झनै समस्या भई समयमा सेवा प्रवाह नहुँदा बिरामीहरुले गुनासो गर्ने गरेको सुनाए। उनले भने, “यो कार्यक्रमका लागी भनेर सकभर एउटा छुट्टै जनशक्ति तयार पर्दा अझ प्रभावकारी हुनथ्यो की जस्तो लाग्छ, एकै ब्यक्तीबाट धेरै जिम्मेवारीका सेवा प्रवाह हुँदा त्यसको गुणस्तर पनि राम्रो हुदैन ।”

स्वास्थ्य बीमा कार्यक्रम

नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्य अनुरुप राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (गठन आदेश) २०७१ बमोजिम आर्थिक वर्ष २०७२(०७३ मा कैलाली, बाग्लुङ्ग र इलाम जिल्लाबाट शुरु भई हाल देशका ३६ जिल्लामा विस्तार भएको छ ।

कालीकोट र बझाङ जिल्ला सहित देशका ४० जिल्लामा स्वास्थ्य विमा कार्यक्रमको सम्झौता भएको जनाईएको छ । क्रमशः अन्य जिल्लाहरुमा पनि विस्तार गरिने अंगिकार गरेको छ । यो योगदानमा आधारित स्वास्थ्य जोखिमका अग्रिम ब्यवस्थापन गर्ने अवधारणा हो । यस कार्यक्रममा जुनसुकै समयमा सदस्य वन्न सकिन्छ, तर सेवा प्राप्त गर्न तोकिएको समय कुर्नु पर्ने हुन्छ ।
पाँच जना सम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार रु २५ सय तिर्नु पर्छ । यसैगरी परिवारमा पाँच जनाभन्दा बढि सदस्य भए प्रति थप सदस्यको रु ४ सय २५ का दरले थप रकम तिर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमा गरिसकेपछि नेपाल सरकारबाट निशुल्क उपलब्ध गराईएको सम्पुर्ण स्वास्थ्य सुविधाहरु यथावत रहने छन ।

यसबाहेक सदस्यले तोकिएका सेवा प्रदायक संस्थाहरुबाट बहिरङ्ग, अन्तरङ्ग, र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरु, कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा, ४० वर्ष माथीको भए वर्षको एक पटक अतिरिक्त सेवाको रुपमा स्वास्थ्य जोखिम परिक्षण सेवा (रक्त चाप परिक्षण, रगतमा चिनीको मात्र, पिसाबमा चिनी र प्रोटिन) परिक्षण सेवा पनि प्राप्त गर्ने छन । यसैगरी पाँच जना सम्मको परिवारले आवाश्यक पर्दा वार्षिक रु. ५० हजार सम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन ।

५ जना भन्दा बढि सदस्य भएको अवस्थामा प्रति सदस्य रु १० हजार सुविधा थैलीमा थपिने छ । यसको अधिकतम सिमा एक लाख रुपैया सम्म हुनेछ । यस कार्यक्रम अन्र्तगत तोकिएको मुल्यभन्दा बढि रकमका चष्मा, श्रवणयन्त्र लगायतका स्वास्थ्य सम्वन्धि सहायक यन्त्र, प्लाष्टिक सर्जरी, कृत्रिम गर्भाधान सम्बन्धी सेवा भने उपलब्ध नहुने जनाईएको छ ।

 

स्रोत : गुडन्युज साप्ताहीक

  • ३ आश्विन २०७५, बुधबार २२:५१ प्रकाशित
  • Nabintech