तिज पर्वको पौराणीक महत्व
  • काँचुली खबर

पौराणिक हिन्दु धार्मिक परम्परा अनुसार हिमालयकी छोरी पार्वतीले श्री महादेव स्वामी पाउँ भनि शिवलिंगको स्थापना गरि निराहार कठोर तपस्या गरेको र पार्वतीको तपस्याबाट भगवान शिव प्रसन्न भई आर्शिवाद दिए पछि भगवान शिव र पार्वतीको विवाह भएको दिन भाद्र शुक्ल तृतीयाको दिन परेकोले यस दिनलाई तीज पर्वको रुपमा मनाउदै आएको पाईन्छ ।
विवाह भई सकेका महिलाहरुले पतिको सुस्वास्थ्य, दिर्घ आयुको कामना गर्दै र अविवाहिताहरुले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने गरेको पाईन्छ । यो पर्व सवै नेपाली चेलीहरुले मनाउने ठुलो पर्वको रुपमा पनि लिईन्छ ।
खास गरि विवाहित चेलीहरुलाई माईतीघरबाट आमाबुवा, दाईभाईहरुले दर खान र तीज मनाउनका लागि बोलाउने, तीजको एक दिन अघि मीठो चोखो बनाएर खाने, नयाँ लुगाहरु किन्ने र सुखदुखका कुराकानी गर्ने गरिन्छ भने तीजको दिन विहानै उठि नुहाई धुवाई गरि नयाँ लुगा तथा सौभाग्यका सामानहरु गर गहना, चुरा, सिन्दुर टिका, पोते, तिलहरी लगाई निराहार व्रत बसि नजीकैको मन्दिरमा खास गरि भगवान शिवको मन्दिरमा धुपदिप, बेलपत्र धतुरो, फलफुल चढाई भगवान शिवजीको पवित्र मनले पुजा आजा गरिन्छ ।
गाउँघरमा सवै चेलीहरु आफ्नो माईती आएका बेला सवै साथीसँगीहरुसँग भेटघाट हुने र सवै मिली एक ठाउँमा भेला भई भोकलाई र्विसाउर्दै घरको पिडा, आफ्ना घरमा सासु, नन्द आमाजुले दिएको पिडाहरुलाई विर्सदै तीजको भाखामा गीतको माध्यमबाट बाहिर निकाल्ने र नाच्ने गरिन्छ ।
यसरी हिन्दु नेपाली महिलाहरुले पौराणिक काल देखि मनाउँदै आएको यो पर्व पछिल्लो समयमा विकृती मौलाउदै आएको छ । यस्ता परम्परागत धार्मिक पर्व मनाउनका लागि महिलाहरु महँगो कपडा, दरको नाममा विभिन्न होटेल रेस्टुरेन्टमा भोज भतेर, महँगा महँगा उपहार, गर गहनाहरुमा प्रतिस्पर्धा बढदै आएको देखिन्छ अतः महिलाहरुले प्रतिस्पर्धा भौतिक रुपमा होईन बौद्धिक रुपमा गरौं । चेतना भया । सवैलाई तीज पर्वको शुभकामना ।

 

शोभा गुरुङ्ग

  • २७ भाद्र २०७५, बुधबार ११:५३ प्रकाशित
  • Nabintech