५ नं. प्रदेशका सबै स्थानीय तहमा खेल मैदान बन्ने
  • काँचुली खबर

प्रदेश ५ का सबै नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा खेल मैदानलागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने बताईएको छ ।
प्रदेश ५ मा एक सय ९ वटा स्थानीय तह छन् । खेल मैदान बनाउन प्रत्येक स्थानीय तहलाई ५० लाख रुपैयाँका दरले वजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए ।

मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको छलफलबाट एक पालिका, एक खेल मैदानको कन्सेप्ट आएको र त्यसै अनुसार काम गरिने सामाजिक विकास मन्त्रालयका प्रवक्ता सहसचिव मित्रमणि खनालले बताए । खेल मैदानका लागि आफ्नो गाउँरनगर सभाबाट कार्यक्रमलाई पारित गरी उपयुक्त जग्गा छनोट र निर्माणको प्रकृया अघि बढाइएको खनालले जानकारी दिए ।

कतिपय पालिकाहरु खेल मैदानको जग्गाको खोजीमै रहेको खनालले बताए । सरकारले प्रदेशका चारवटा उपमहानगरपालिकामा रंगशाला बनाउने भनेको छ । जस अनुसार नेपालगन्जमा एउटा रंगशाला, घोराहीमा नेत्रलाल अभागी रंगशाला, लमहीमा क्रिकेट रंगशाला र बुटवलमा उजिरसिंह रंगशाला बनाउन वजेट छुट्टाएको छ ।
यस्तै प्रदेशस्तरीय अन्तराष्ट्रिय रंगशाला निर्माणको सम्भाव्यता अध्ययन गर्न पनि बजेट विनियोजन गरेको छ । नीजि क्षेत्र समेतको साझेदारीमा विभिन्न खेल सम्बद्ध इन्डोर तथा आउटडोरको संरचना निर्माण गर्न एक करोड ९० लाख बजेट विनियोजन गरेको छ ।

  • २० भाद्र २०७५, बुधबार १९:४२ प्रकाशित
  • Nabintech