काठमाडौं– मलेसियामा जारी एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले दोस्रो जित दर्ता गरेको छ । आइतबार सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले जित दर्ता गरेको हो । आइतबार भएको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको थियो । उसले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन जोडन सफल भयो ।
१ सय ५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सहज जित दर्ता गर्ने क्रममा नेपालको ओपनर अनिल साहले उत्कृष्ट पारी खेले । उनले ३२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४३ रनको योगदान दिए ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९ रन जोडे । अर्का ओपनर सुवास खकुरेल र सागर पुनले समान १४ रनको योगदान दिए भने कप्तान पारस खड्का ११ रनमै पेभेलियन फर्किए । यसअघि, सिंगारपुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सन्दीपले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर ३ विकेट हात पारे भने ललितले ९ ओभरमा एक मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।
यस्तै सोमपाल कामीले २ तथा वसन्त रेग्मीले १ विकेट लिए । सिंगापुर कप्तान चेतन सूर्यवंशीले बाहेक अन्य खेलाडी उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उनले ८८ बलमा ८ चौका र १ छक्काको सहयोगमा ६० रन जोडे ।
यो जितसँगै नेपाल अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । चार खेलमा तीन खेल जितेको युएई अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । उत्कृष्ट बलिङ गरेका ललित आजको म्यान अफ दी म्याच घोषित भए । नेपालले मंगलबार हङकङको सामना गर्दै छ ।
१७ भाद्र २०७५, आईतवार १३:१८ प्रकाशित