बाँकेका प्रया सबै स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरुले करिब आधा करोड बराबरका सवारीका साधनहरु प्रयोग गर्दै आएता पनि बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरी भे४प ७६२७ नम्बरको निजी मोटरसाइकल चढ्छन् । जिल्लाका अन्य स्थानीय सरकार प्रमुखले आधा करोडभन्दा बढीका स्कार्पियो गाडी चढिरहँदा उनी पुरानो मोटरसाइलकमा हुइँकिन्छन्् । ‘जनताले तिरेको करबाट महँगो कार किन्दिनँ र किन्न पनि दिन्नँ,’ उनले भने, ‘त्यो रकम विकासका काममा लगाउँछु, जनताकै सेवामा खर्च गर्छु ।’
सर्वसाधारणको करबाट करोडौं पर्ने कार किन्ने, चालक राख्ने र इन्धन खर्च पनि करबाटै उठाउने कुराको उनी विरोधी छन् । ‘त्यसो गर्दा गाडी किन्ने रकमबाहेक इन्धनमा मात्रै पौने करोड वार्षिक खर्च हुन्छ । यो रकम जोगाउने हो भने एउटा सानो विकासको काम हुन सक्छ,’ उनले भने, ‘त्यसैले गाडी चढ्ने सपना मेरो छैन ।’ उक्त गाउँपालिकामा तत्कालीन गाउँ विकास समितिले खरिद गरेको एउटा मोटरसाइकल छ । त्यो अहिले कर्मचारीले प्रयोग गर्छन् ।
गाउँपालिका प्रमुखले निजी सवारी प्रयोग गरेपछि वडाध्यक्षले पनि त्यसै गरेका छन् । ठकुरी सादगीपूर्ण जीवनशैली रुचाउँछन्। उनको कार्यकक्षमा एसी छैन । उपप्रमुख र अन्य कर्मचारीका कार्यकक्षमा सामान्य पंखा राखिएका छन्। सभाहलमा एसी राखिएको छ ।# Pic by Kantipur
१४ भाद्र २०७५, बिहीबार १२:०४ प्रकाशित