भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका लागि नेपाली सेनाले हवाइ गस्ती शुरू गरेको छ । सेनाले सोमवारदेखि हवाइ गस्ती शुरू गरेको हो । सुरक्षा चुनौती रहने भनेर पहिचान भएका क्षेत्रलाई लक्षित गरी गस्ती शुरू गरेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।
‘सम्मेलनको सुरक्षाका लागि भनेर नियमित गस्ती गर्ने रुटिनअनुसार सोमवारदेखि हवाइ गस्ती शुरू भएको हो,’ सहायक रथी भण्डारीले भने, ‘खास गरी सुरक्षा चुनौती रहेका क्षेत्रको रूपमा पहिचान भएका ठाउँलाई लक्षित गरी हवाइ गस्ती भइरहेको छ ।’
सेनाले बिहान र साँझ गरी दिनको दुईपटक हवाइ गस्ती गरिरहेको छ । सेनाले हवाइ गस्तीका लागि आफूसँग भएका सबै हेलिकप्टर परिचालन गर्ने प्रवक्ता भण्डारीले जानकारी दिए ।
मोदीको सुरक्षाका लागि भारतीय कमान्डोको छुट्टै टोली
बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतीय कमान्डोको टोली काठमाडौं आइपुगिसकेको छ । गृह मन्त्रालय स्रोतका अनुसार आइतवार नै भारतीय कमान्डोको टोली काठमाडौं उत्रिएको हो । भारतीय वायुसेनाको विमानमा हातहतियारसहित भारतीय सेनाका विशेष तालिमप्राप्त १५ जना सुरक्षाकर्मीको टोली अहिले काठमाडौंमा छ । भारतीय कमान्डोको टोलीले नेपाली सेनासँगको सहकार्यमा सुरक्षाका लागि परिचालन हुने रणनीति बनाइरहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीका लागि भारतले छुट्टै तीनवटा बुलेटप्रूफ गाडी, जामरजडित गाडी नेपाल ल्याइपुर्याइसकेको छ ।
तीन महिना अगाडिदेखि सुरक्षा विश्लेषण
सेनाले बिमस्टेक सम्मेलनको सुरक्षाका लागि तीन महिना अगाडिदेखि सुरक्षा विश्लेषण गरिरहेको छ । सम्मेलनको मिति तय भएदेखि नेपाली सेनासहित प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सम्मिलित एक टोलीले सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सुरक्षा चुनौती विश्लेषण गरिरहेको थियो । ‘मिति तय भएदेखि नै हामीले सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखकको सेक्युरिटी थ्रेटबारे विश्लेषण गरिरहेका थियौं,’ सैनिक प्रवक्ता भण्डारीले भने, ‘कतिपय अवस्थामा सम्बन्धित देशको सुरक्षा एजेन्सीसँग पनि सहकार्य गरेर हामीले सुरक्षा योजना निर्माण गरेका छौं ।’
सैनिक प्रवक्ता भण्डारीका अनुसार बिमस्टेक सम्मेलनमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखकको सुरक्षाका लागि पहिलो घेरमा सेना, दोस्रोमा प्रहरी तथा तेस्रो घेरमा सशस्त्र प्रहरी परिचालन हुने छ । यस्तै बाह्य सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई परिचालन गरिने छ ।
बाहिरबाट आएका सुरक्षाकर्मी पनि सेनाकै नेतृत्वमा परिचालन
शिखर सम्मेलनमा सहभागी हुने बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ)का अलावा हतियारसहितका थप सुरक्षाकर्मी पनि साथमा ल्याउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि परिचालन हुने भारतीय सेनाअन्तर्गत उच्च तालिमप्राप्त (कमान्डो)को टोली काठमाडौं आइपुगिसकेको छ ।
व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ)का अलावा सुरक्षाका लागि भनेर सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखले ल्याउने सबै सुरक्षाकर्मी पनि नेपाली सेनाको नेतृत्वमा परिचालन हुनेछन् । ‘हामी गरेको सुरक्षा विश्लेषणका आधारमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि सुरक्षा योजना तयार भएको छ,’ सैनिक प्रवक्ता भण्डारीले भने, ‘सदस्य राष्ट्रबाट आउने विशिष्ट व्यक्तिका पीएसओका अलावा अन्य सुरक्षाकर्मी पनि सोही सुरक्षा योजनाअनरुप सेनाकै नेतृत्वमा परिचालन हुनेछन् ।’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१२ भाद्र २०७५, मंगलवार १७:५७ प्रकाशित