बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोली लागि मृत्यु भएका सोनु खुनाको पक्षमा न्याय माग्दै कोहलपुरमा दिप प्रज्वलन गरिएको छ । कोहलपुरमा पहिलो पटक घटनाको विरोध तथा र घटनामा दिवंगत भएका दुवै जनाको आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको हो ।
ज्ञानोदय सामुदायीक पुस्तकालय अन्र्तगत महिला उप-समितिको अगुवाईमा बेलुका ६ः३० बजे कोहलपुर न्यूरोडमा दिप प्रज्वलन गरिएको थियो । पुस्तकालय महिला उप-समिति संयोजक गीतादेवी प्याकुरेलका अनुसार कोहलपुरमा रहेका अधिकारकर्मी तथा सरोकारवाला निकायहरु हालसम्म मौन बसेकाले उनीहरुलाई पनि कञ्चनपुर घटनाप्रति संबेदनशील बन्न र ध्यानाकर्षण गराउन दवावमूलक कार्यक्रमका रुपमा दिप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलनका सहभागिहरुले पन्तका परिवार र खुना परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै घटनाको सत्यतथ्य र यथार्थ छानबिनमा भैइरहेको ढिलाई र सरकारी वेवास्ताप्रती आक्रोस ब्यक्त गरेका छन ।
दिप प्रज्वलनका सहभागीहरुले कानुनको रक्षकका रुपमा स्थापित तत्कालिन प्रहरी अधिकृतहरुबाट घटनालाई गुपचुप पार्ने प्रयास असफल भएको भन्दै घटनाप्रति फितलो अनुसन्धान गरी वास्तविक दोषीलाई संरक्षण गर्न खोज्ने प्रहरीका उच्च अधिकृतहरुलाई पनि तत्काल कारवाही गर्न माग गरेका छन् । पछिल्लो समयमा गृह मन्त्रालयको उप-सचिवको संयोकत्वमा गठित छानविन समितिले कुनै दवाव वा प्रलोभनमा नपरेर सत्य तथ्य अनुसन्धान गरी प्रहरी र सरकारको छवि र गरिमालाई कायम राख्न संयोजक प्याकुरेलले माग गरेकी छिन् ।
कार्यक्रममा महिला अधिकारकर्मी, सरोकारवाला पक्षका प्रतिनिधी, आम नगरवासी, किशोरी समूहका सदस्यहरु, पत्रकार लगाएतले सहभागिता जनाएका थिए ।
११ भाद्र २०७५, सोमबार १९:३८ प्रकाशित