प्रतिनिधिसभामा बर्दिया १ बाट पराजित वामदेव गौतम डोल्पाबाट चुनाव लड्दैछन्। उनलाई डोल्पाका धनबहादुर बुढाले सांसद पदबाट राजीनामा दिएर गौतमका लागि ठाउँ खाली गरिदिँदैछन्। गौतम पराजित भएर पनि चर्चामा छाइरहेका नेताका रूपमा चिनिन्छन्।
तीनै तहको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका थुपै्र नेता पराजित भए। बाँके र बर्दियाबाट निर्वा्चित भएका सांसदहरूले के गरिरहेका छन्, त्यसको कतै चर्चा छैन। निर्वा्चित भएर पनि गुमनाम छन् उनीहरू। न उनीहरूको काम देखिएको छ न त नामै सुनिएको छ। वामदेवलाई हराएका कांग्रेस नेता सञ्जय गौतमले पनि जिल्लाका लागि देखिने गरी केही काम गरेका छैनन्। उनी पनि काठमाडौंमा हराएका छन् तर पराजित वामदेव सधैं चर्चामै। आखिर किन ?
बाँके र बर्दिया यस्तो जिल्ला हो, जसले थुप्रै नेता जन्मायो तर ती नेता त्यहाँका सन्तान रहेनन्। जिल्लाको विकासका लागि चिन्ता, चासो र नेतृत्व लिनसक्ने नेता कोही निस्किएनन्। यो स्थान जहिले पनि केन्द्रीय राजनीति र नेताको छायामा पर्रुयो। त्यहाँबाट हुर्केर केन्द्र पुगेका नेता उतै अलमलिए। मलजल पाएर हुर्केको एउटा बिरुवाका हाँगा परपरसम्म पुगे, तर ती हाँगाले आफ्नो जरा कहाँ छ भन्ने बिर्सिए। जसका कारण बाँके र बर्दियाको राजनीति सधैं पछाडि पर्रुयो।
बाँकेका सुशील कोइराला प्रधानमन्त्री बने, बर्दियाका उपप्रधानमन्त्री वामदेव गौतम। वामदेव (२०५४, २०६५ र २०७०) मा गृह तथा उपप्रधानमन्त्री रहे। तर यी दुवै नेताले आफ्नो जिल्लाका लागि उल्लेख्य काम गर्न सकेनन्। तर राष्ट्रिय राजनीतिमा भने उनीहरूले आफ्नो प्रभाव देखाए। सुशीलले नेपाली जनताका लागि संविधान दिए भने नेता वामदेव गौतमले दुई ठूला कम्युनिस्ट पार्टीलाई एकीकरण गर्ने अभियानमा भूमिका निर्वाह गरे। वाम गठबन्धन र पार्टी एकीकरणका सूत्राधार वामदेवले मुलुकको मन जित्न सके तर आफ्नै गृहजिल्लामा मतदाताको मन भने जित्न सकेनन्।
यी दुई नेता बाँके र बर्दियाका लागि शान बन्न सक्नुपर्थ्यो तर त्यसो भएन। राजनीतिकै लागि आफ्नो व्यक्तिगत जीवन समर्पित गरेका सुशीललाई न हामीले साझा नेता मान्यौं न त उनले नै साझा नेता बन्ने कोसिस गरे। उनी कांग्रेसका नेता मात्र भए, बाँकेबासीका नेता हुन सकेनन्। अथवा हामी बाँकेबासी उनलाई आफ्नो साझा नेता मान्न सकेनौं। त्यसैले निर्वाचनमा पराजित गरिदियौं। उनलाई संविधानसभा पहिलो निर्वाचनमा सर्वदेव ओझाले पराजित गरिदिए। सर्वदेव ओझा त्यस्ता नेता हुन्, जसले दोस्रो संविधानसभा निर्वाचनमा ७७ भोट मात्र ल्याएका थिए।
वामदेव पनि बर्दियाली जनताको नेता बन्न सकेनन्। वामदेव अहिलेसम्म भएका निर्वाचनमा ६ पटक सहभागी भए, जसमध्ये मतदाताले उनलाई तीनपटक जिताएका छन् भने तीनपटक पराजय भोग्नुपर्रुयो। तर अहिलेजस्तो चर्चा यसअघिका पराजयमा वामदेवले पाएनन्। उनलाई २०४८, २०५१ र २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया र प्युठानका जनताले निर्वाचनमा जिताएर पठाए। २०५१ सालको मध्यावधि निर्वाचनमा विजयी वामदेवले छोटो समयमै बर्दियाका लागि उल्लेखनीय काम गरेका थिए। तर २०५६, २०६४ र २०७४ सालमा भएको निर्वाचनमा भने उनी पराजित भए।
सुशील त हामीमाझ छैनन् तर वामदेव गौतम भने अहिले पनि उत्तिकै सक्रिय छन्। जसका कारण अहिले पनि उनको निर्वाचन परिणामलाई लिएर चर्चा भइरहेको छ। वामदेव भलै अहिले सरकारको कुनै जिम्मेवारीमा छैनन्। तर बर्दियाको विकासका लागि वामदेवले चाहे भने गर्न नसक्ने पनि केही छैन। अहिलेसम्म पार्टी एकीकरणलगायतका काममा व्यस्त भएकाले उनले जिल्लालाई पर्याप्त समय दिन सकेनन्। तर अब उनीसँग प्रशस्त समय छ। जिल्लामा गुमेको साख फिर्ता गर्न उनले अलिकति मेहनत मात्र गरे पुग्छ, जसरी उनले २०५१ सालको निर्वाचनमा विजयी भएपछि बर्दियाका लागि विकासको काम गरेका थिए।
एमाले सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानका क्रममा बहुप्रतीक्षित बबई सिँचाइ आयोजनाले वामदेवकै पहलमा गति लियो। २०२४ सालदेखि नै अध्ययन थालिएको सो आयोजना बन्न एमालेको सरकार बन्नुपर्रुयो र त्यसको नेतृत्व वामदेवले नै गर्नुपयो। अब फेरि त्यस्तै सक्रियता जिल्लाबासीका लागि वामदेवले देखाउनुपर्छ। बबई सिँचाइ आयोजना देखाएर वामदेवले कहिलेसम्म राजनीति गर्ने ? अब उनीबाट विकासमा दूरगामी प्रभाव पार्ने विकासको काम हुनुपर्छ। अहिले बाँके र बर्दियाका लागि सरकारका तर्फबाट राष्ट्रिय राजनीतिमा पकड भएका नेता वामदेव नै हुन्। अहिले वामदेवमाथि नकारात्मक टिप्पणी हुने गरेका छन्, यसबाट बाँके र बर्दिया थप कमजोर हुन सक्छ। विभिन्न जिल्लाबाट निर्वा्चित केन्द्रीय नेताले आफ्नो जिल्लामा करोडौं बजेट पारेका छन्। सबै नेताले सकेसम्म बजेट आफ्नो क्षेत्रमा खन्याइरहँदा बाँके र बर्दिया भने टुहुरो बनेको छ। त्यसैले बाँके र बर्दियालाई अभिभावकत्व दिन पनि वामदेव सक्रिय हुनैपर्छ।
तर त्यसका लागि उनले आफ्ना केही व्यक्तिगत व्यवहारमा परिवर्तन भने गर्नैपर्छ। उनको सबैभन्दा ठूलो कमजोरी उनी सर्वसाधारण जनताको सहज पहुँचमा छैनन्। प्रधानमन्त्री केपी ओलीलाई भेट्न सजिलो होला तर वामदेवलाई भेट्न गाह्रो छ। उनी अहिले कुनै औपचारिक भूमिकामा छैनन् र पनि उनी यति व्यस्त छन्, चाहेको बेला भेट्न सकिन्न। सञ्चारमाध्यममा पनि कमै देखिनाले उनीप्रति नकारात्मक टिप्पणी आउने गर्छ। आफ्ना यी कमजोरीलाई सुधारे भने वामदेवको राजनीतिक आयु त लम्बिन्छ नै, यसले बाँके र बर्दियावासीलाई पनि फाइदा पुग्छ।
सिर्जना आचार्य
साभार : अन्नपूर्ण पोष्ट
८ भाद्र २०७५, शुक्रबार १३:४८ प्रकाशित