‘संसार वैविध्य छ’ वैविध्यता नै सुन्दर संसारको द्योतक हो । अर्थात् जगत सुन्दर छ किनकी यहाँ विविधता छ । जगतको खण्ड–खण्डमा विविधता छ । सुन्दरताविहीन खण्ड नै छैन । तर सम्पूर्ण जगतको विविधता जगतको कुनै एउटा सानो खण्डमा उपलब्ध हुनै सक्दैन-अटाउन सक्दैन । विविधता पनि आँकडा लगाउन नसकिने विविधि छ । यो यत्र छ-तत्र छ । बिस्तीर्ण छ । सुन्दरताले आफू विपरीतलाई पनि सकारात्मक अर्थ दिन्छ । ढकमक्क फुलेको गुलाबको बोटलाई हेरौँ । फूलले काँडालाई पनि सौंन्दर्य प्रदान गर्छ ।
पंक्तिहरु पढिरहनु भएको तपाईं आफैँ पनि सुन्दर हुनुहुन्छ । तपाईंका अतिरिक्त पनि जगतमा अरु सुन्दरता छ । जगत सुन्दर भएकै कारण तपाईं पनि सुन्दर हुनुभएको हो । सुन्दरताको दिव्य विशेषता होः सहजता, शान्ति, चित्ताकर्षक र सहअस्तित्व । सुन्दरताको खास विशेषता हो रुचिकर, ग्राह्य, स्वीकार्य, प्रीतिकर वा सुखदायी । त्यसकारण सौंन्दर्यले मानवचित्त लालयित पार्छ । किनकी सुन्दरताले मानवचित्तमा आनन्दको अतिरेक बनाउँछ । प्राणीजगतको जीवनकाल आनन्द प्राप्तिको महादौडमा बित्छ । मानव यो दौडमा सबैभन्दा अग्रणी छ । हरेक प्राणी जीवनभर भौतिक शरीरलाई श्रममा लगाउँछ, मानसिक कसरत गर्छ र बौद्धिक क्षमता प्रयोग गर्छ । जीवन जिउने रणनीतिक चपलता र क्रीडाको प्रमुख उद्देश्य आनन्द प्राप्ति हो । चाहे त्यो क्षणिक होस् वा दीर्घकालीन ।
प्रेम कहिल्यै प्रदर्शनको विषय होइन । यो दर्शन हो । प्रेम ‘घट’ मा हुन्छ त्यसकारण प्रेम एक निशर्त र निस्वार्थ दान हो । भौतिक शरीरलाई खानाको आवश्यकता परेजस्तै घट-घटलाई प्रेमको आवश्यकता पर्छ । यसर्थ प्रेम आत्माको भोजन हो । प्रेमले स्वतन्त्रता खोस्दैन । पराधीन बनाउने वा स्वामित्व लाद्ने कुरा प्रेममा स्वभावतः स्वतः वर्जित छ । प्रेम शास्त्रभन्दा बाहिरको विषय हो । विविधताबाट निसृत हुने सौन्दर्यले प्रेमानुराग बढाउने कुरा जीवन र जगतभित्रको प्राकृतिक तारतम्य हो । प्रेम समस्या होइन स्वयम्मा समाधान हो ।
सामाजिक बनौट र मानव मानवबीचको सम्बन्ध-परम्परा कायम गर्ने क्रममा अप्राकृतिक मान्यता हावी भए । आवश्यकता पूरा गर्न बस्तु उत्पादन गर्नु ठीक होला तर बस्तु उत्पादन गरेर मानवीय आवश्यकता परिणत गर्ने बजारवादी दुनियाँमा प्रेम पनि अर्थशास्त्रबाट नियन्त्रित र निर्देशित हुँदैछ । प्रेमलाई उपभोग्य बजारको ‘बस्तु’ अर्थात् भौतिक लेनदेन र कारोबारको दायरामा विनिमय गर्न खोजियो । कम लागतमा बढी उपलब्धी खोज्ने बजारवादी चिन्तनले मानवचित्त प्रेमहीन हुँदै छ । प्रेमलाई पनि लगानी र प्रतिफल (उत्पादन बजारीकरण) को दृष्टिले हेरिँदै छ । प्रेमको सफलता र असफलता क्याल्कुलेटरका अंकहरुमा सीमित पार्न खोजिँदै छ ।
सौंन्दर्यको भद्दा बजारीकरण भयो । यसले चित्ताकर्षक लालित्यमा ह्रास ल्यायो । प्रेम स्वतन्त्रताको तगारो बन्यो । मानव चित्तमा आनन्दको अनुराग छ तर आनन्द अप्राप्य र दुर्लभ्य बनाइयो । महात्मा गान्धीले भन्नुभयो, ‘विज्ञान र प्रविधि साधन हो, साध्य होइन ।’ अहिले विकास मानवका लागि भए तर स्वयम् मानवको विकास भएन । प्रविधिले सेवासुविधा बढाउँछ तर मानवीय रुपान्तरण प्रेम र विचारबाट हुन सकछ । प्रेमहीन मानवचित्तले रुग्णताको पराकाष्ठा छुँदैछ ।
आनन्दको अतृप्त प्यासले विक्षुब्ध मनुष्य चित्त अस्वस्थ हुन्छ । रुग्ण हुन्छ । आत्मघातको शर्तमा पनि अति अल्प समयको आनन्द चाहन्छ । क्षणभोगकै लागि पनि जीवन दाउमा लगाउँछ । रमरममा रमाउन तयार हुन्छ । त्यसकारण सम्पूर्ण जीवन नष्ट हुने शर्तमा लागूऔषध सेवन गर्छ । मनुष्यता भन्दा तल ओर्लेर बलात्कार गर्छ ।
‘जगतलाई सुन्दर र जीवनलाई आनन्द’ यो प्रेम मार्गबाट मात्र सम्भव छ । प्रेम र प्रेमीलहरुले मात्र जीवनलाई स्वस्थ र आनन्ददायी बनाउन सक्छन् । जगत सुन्दर बनाउन सक्छन् । जगत नै प्रेमील आत्माले भरिएको दिन लागूऔषधको प्रयोग अपवाद हुने छ । बलात्कार विरलै सुन्न पाइने छ । तर तिम्रो शहरमा त प्रेमीलहरुलाई आलिङ्गन गर्न प्रतिबन्ध छ । प्रेमलाई तिम्रो संस्कृति र कानुनले पाप र अपराध भन्छ । प्रेमीलहरु माथि प्रहरीको निगरानी छ ।
प्रेमीलहरु भेट हुने एउटा बगैंचा छैन । आखिर कहाँ जाउन् त आकुलव्याकुल प्रेमील आत्माहरु ? लागूऔषध प्रयोग गर्नेहरुका लागि सुधार केन्द्र बनाउनेहरु, बलात्कारीलाई फाँसी दे भनेर माइतीघरमा बेहोसी झैँ रुप देखाउनेहरु र बलात्कारीका लागि कडा कानून र जेल बनाउछौँ भन्ने सरकार ! तिम्रो शहरमा प्रेमीलहरु निर्धक्क र खुला भएर भेट गर्ने एउटा पार्क बनाऊ । जहाँ उन्मुक्त प्रेमालिङ्गनमा प्रेमीलहरु हराउन सकून् । अहिले तिम्रो शहरमा पागल र नशेवाजहरु मात्र उन्मुक्त हाँसो हाँस्न सक्छन् । हामीले प्रेमील मैत्री समाज बनाउन सकेनौँ भनेर घोत्लिऊ न एकपटक ।
स्रोत : जनता समाचार
५ भाद्र २०७५, मंगलवार १६:४९ प्रकाशित